
मलंगवा ।। नेपाल मुस्लिम इत्तेहाद संगठन सर्लाहीको अध्यक्षमा पुनः शेख मेहबुव रेजा सर्वसम्मत चयन हुनु भएको छ । मंगलबार मलंगवास्थित बालमन्दिर प्राङ्गणमा भएको दोश्रो जिल्ला अधिवेशनले हरिवन ११ का वडा अध्यक्ष समेत रहनुभएका रेजालाई संगठनको अध्यक्षमा पुनः सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष कै अध्यक्षता तथा पूर्वमन्त्री एवम् नेकपा एमाले सर्लाही सह–इन्चार्ज बद्री प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा रेजासहित उपाध्यक्षमा फुलमोहम्मद खाँ(अख्तर), सचिवमा गुलाम गौश मिक्रानी, दुई जना सह–सचिवमा क्रमशः असफाक मिक्रानी र मोहम्मद हदिश, कोषाध्यक्षमा शेख सकिल अहमद र अन्य सदस्य गरी ८१ सदस्यीय जिल्ला कमिटी चयन गरेको नव गठित कमिटीका सदस्य मोहम्मद तमन्नाले जानकारी दिनुभयो ।
अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि न्यौपानेले सबैलाई समेट्न सक्ने पार्टी भनेकै एमाले भएको बताउनुभयो । उहाँले मुस्लिम समुदाय र अन्य सबै समुदायको हित गर्ने पार्टी भनेकै एमाले भएकोले आसन्न स्थानीय तहको निर्वाचनमा एमालेलाई भारी मतका साथ विजयी गराउन लाग्न निर्देशन दिनुभयो ।
त्यस्तै नेकपा एमालेका मधेश प्रदेश कमिटी उपाध्यक्ष रेवती पन्तले हिजो मधेशीको हक अधिकारको लागि लडेका भनिएका मधेशवादी दल र तिनका नेताहरुको चरित्र उदाङ्गो भईसकेकोले नेकपा एमाले वाहेक अरुले मधेशको विकास गर्न नसक्ने बताउनुभयो । उहाँले नेकपा एमाले मुस्लिम, दलित, आदिवासी, जनजाती सबैको पार्टी भएको बताउनुभयो ।
अधिवेशनमा एमाले सर्लाही अध्यक्ष राजनारायण साह, उपाध्यक्ष विदुर कुमार प्याकुरेललगायतका नेताहरुले संगठनको दोश्रो अधिवेशन सफलताको लागि शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा एमाले सर्लाही उपसचिव प्रकाश थापा, हरिवन नगरपालिकाकी उपमेयर रेणुका कुमारी पौडेल, नेता गीतानाथ मैनाली केदार, नागेश्वर साहलगायतका नेताहरुको आतिथ्यता रहेको थियो । नेपाल बाल मन्दिरका सभापति समीमबाबु खानले सञ्चालन गर्नु भएको अधिवेशनमा एमाले सम्वद्ध जिल्लाभरका ५ सय बढी मुस्लिम अगुवा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।