
भाइरल पोष्ट, हरिवन
सर्लाहीको हरिवनमा क्षयरोग अर्थात टिबी रोग मुक्त अभियानका स्वयमसेवकहरुलाई क्षमता अभिवृद्धि तालिम दिन सुरु गरिएको छ । सोमबार नगरप्रमुख गणेश प्रसाद प्रसाईको अध्यक्षतामा सुरु भएको दुई दिने क्षमता अभिवृद्धि तालिम मंगलवाससम्म चल्ने छ ।
संकेत समयको, अन्त्य क्षयरोगको भन्ने मूल नाराका हरिवनलाई क्षयरोगमुक्त अर्थात् टिबी फ्रि पालिका बनाउन नगरपालिकाको स्वास्थ्य शाखाले विभिन्न अभियानहरु सुरु गरेको छ । जस अन्तर्गत नगरका प्रत्येक घरघरमा गएर स्वास्थ्यकर्मीहरु तथा स्वयमसेवकहरुले सम्भावित विरामीहरुको खकार संकलन गर्ने, त्यसको जाँच गरी क्षयरोग भए नभएको यकिन गरी भए निःशुल्क औषधी दिने लगायतका कार्य गरिरहेका छन् । सोही कार्यलाई सहज बनाई बढी भन्दा बढी रोगीको पहिचान गर्नमा स्वयमसेवकहरुलाई सक्षम बनाउने उदेश्यका साथ दुई दिने क्षमता अभिवृद्धि तालिमको आयोजना गरिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।
तालिमको उद्घाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख डा. नवलकिशोर झा, जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग अधिकृत बलिराम यादव, टिबी रोग अफिसर तथा मधेश प्रदेशका डाइरेक्टर राजबीर यादव, बागमती सेवा समाजका कार्यक्रम व्यवस्थापक अमजद अली मिक्रानीलगायतको आतिथ्यता रहेको थियो ।
तालिमका सहभागिहरुलाई नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरी, नर्सिङ स्टाफ लक्ष्मी आचार्य, अमजल अलि मिक्रानी र मकाबुल राईनले सहजीकरण गर्नुभएको थियो । तालिममा हरिवनका ११ ओटै वडाबाट प्रत्येक वडाका एक एक जना गरी ११ जना स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।