भाइरल पोष्ट, मलंगवा
सर्लाहीमा म्यादी प्रहरीमा जागिर खान आवेदन दिने युवायुवतीको चर्को लाम लागेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि भन्दै आइतबारदेखि खुलेको म्यादी प्रहरीमा फारम भर्नेको लर्को लागेको हो ।
६ दिनको अवधि दिएर दरखास्त आह्वान गरिएको म्यादीका लागि सर्लाहीमा पहिलो दिन आइतबार ३ हजार बढीले फारम भरेका छन् । दोश्रो दिन सोमबार झण्डै ५ हजारले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आवेदन दिन आउनेको अत्यधिक भीड भएपछि प्रहरीलाई फारम संकलन गर्न समेत हम्मे हम्मे भएको छ । ४० दिने म्याद राखेर खोलिएका म्यादीमा जागीर खान भन्दै गाउँगाउँबाट हज्जारौंको संख्यामा युवायुवती सदरमुकाम मलंगवा पुगेका छन् ।
आवेदन दिन पुगेका अधिकांश युवायुवतीले आवेदन भर्न निकै नै सकस भएको अनुभव सुनाएका छन् । जिल्लाकै कौडेनाबाट फारम भर्न पुगेका रुपेश कुमार यादवले फारम भर्न निकै झण्झटिलो भएको बताए । रुपेशले झैं जिल्लाको लालबन्दीबाट आवेदन दिन पुगेका अशोक लोहारले पनि फारम भर्न निकै गाह्रो महसुस भएको बताए । उनले प्रहरीले सहज ढंगले आवेदन दिने वातावरण मिलाउन नसकेको बताए ।
त्यस्तै जिल्लाकै बागमतीबाट म्यादीमा आवेदन दिन गएका पदम भण्डारीले म्यादीमा आवेदन दिन आउनेहरुलाई राम्रो व्यवहार नगरेको बताए । उनले भने, ‘फारम बुझाउने धेरै छन्, बुझ्ने थोरै छन् । प्रहरीले भीडलाई हेरेर आवेदनलाई सहज बनाउन सक्नु पर्दथ्यो तर सकेको छैन । जसका कारण तातोघाममा दिनभरी लाईन बस्न बाध्य भयौं ।’
पदम भण्डारी जस्तै लालबन्दीका रोहित तामाङ्गको गुनासो पनि उस्तै छ । उनी भन्छन्, ‘प्रत्येक ईलाकामा नै आवेदन बुझाउन पाउने व्यवस्था गर्न सकेको भए ताता घाममा लाम लाग्नु पर्ने नै थिएन ।’ उनले थपे, ‘तातो घाममा लाम लागेर बल्ल तल्ल आवेदन बुझाईयो तर छनोट हुने नहुने थाहा छैन ।
प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडी जिल्ला खेलकुद विकासको कवर्डहलमा आवेदन भर्ने व्यवस्था मिलाएको छ । तर आवेदन बुझाउनेको भीड कन्ट्रोल गर्न भने प्रहरीलाई हम्मे हम्मे परेको छ । १८ वर्ष पुरा भई ५४ वर्ष ननाघेकाले आवेदन दिनसक्ने भनिएपनि फारम भर्नेमा भने अधिकांश युवा नै रहेका छन् । प्रहरीले भने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट रिटायर्ड भइसकेकाले प्राथामिकता पाउने जनाएको छ ।
म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २ सय ४० पारिश्रमिकको साथै खाद्यान्न बापत प्रतिब्यक्ति एकमुष्ट ७ हजार २ सय र पोसाक तथा अन्य सामान खरिद गर्न ६ हजार रुपैया निर्धारण गरिएको छ । दरखास्त बुझाइसकेकाहरुको यही १५ गतेदेखि छनौट प्रक्रिया सुरु भई २२ गते अन्तिम नतिजा प्रकाशन गरि २८ गतेबाट उनीहरुको आधारभूत तालिम सुरु गरिने जिप्रकाले जनाएको छ ।
आसन्न निर्वाचनका लागि देशभर एक लाख म्यादी प्रहरी माग भएकोमा सर्लाहीमा भने ३ हजार ८८ जनाको कोटा तोकिएको छ ।