भाइरल पोष्ट, मलंगवा ।।
पौष १६ गते ।। कठ्यांग्रिदो चिसोका कारण सर्लाहीसहित देशैभर जनजीवन प्रभावित भईरहेको छ । चिसो र शितलहरका कारण बालबालिकालाई विद्यालय जान आउन कठिनाई भएपछि बाल कल्याण समाज नामक संस्थाले शनिबार जिल्लाको दक्षिणी पश्चिम भेगमा न्यानो स्वीटर वितरण गरेको छ ।
हरेक वर्ष विशेषगरी बाल विकासमा पढ्ने साना साना नानीबाबुहरुलाई लक्षित गरी न्यानो स्वीटर वितरण गर्दै आईरहेको सो संस्थाले शनिबार रामनगर गाउँपालिकाको वडा नम्बर २ धुर्वामा रहेको आधारभूत विद्यालयमा बालविकासका २७ जना बालबालिकालाई न्यानो स्वीटर वितरण गरेको सो संस्थाले जनाएको छ ।
राज होजियारी वीरगन्जको सहयोगमा न्यानो स्वीटर जुटाएको बाल कल्याण समाजले संस्थाका अध्यक्ष श्याम सुन्दर यादवको अध्यक्षता तथा रामनगर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष सदानन्द यादवको प्रमुख आतिथ्यतामा विद्यालयमै एक कार्यक्रमको आयोजना गरी न्यानो स्वीटर वितरण गरेको संस्थाले जनाएको छ ।
स्वीटर वितरण कार्यक्रममा बालबालिकाका अभिभावक, विद्यालयका शिक्षकशिक्षिका, बुद्धिजीवी, शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको संस्थाका अध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो ।