closeup of the feet of a dead body covered with a sheet, with a blank tag tied on the big toe of his left foot, in monochrome, with a vignette added
भाइरल पोष्ट, लालबन्दी ।।
पौष १६ गते ।। सवारी दुर्घटनामा परी सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिपुर २ का ३५ वर्षिय चक्रेश्वर चौधरी र धनुषाको धनुषाधाम ३ का ३० वर्षिय रोशन यादव रहेका छन् । दुबै जनाको गएराती उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गएराति ८ बजे हरिपुर ८ जगतपुरस्थित नवलपुर मलंगवा सडक खण्डमा प्रदेश २–०३–००१ च २३९६ नम्बरको बोलेरो गाडीले हरिपुर २ बस्ने साईकल यात्री चौधरीलाई ठक्कर दिएको थियो । नाक, कान र टाउकोमा लागेका चौधरीलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । थप उपचारको लागि विरगंजतर्फ लाने क्रममा राती १२ बजेर २० मिनेटमा उनको मृत्यु भएको थियो ।
त्यसैगरी गएराति नै सवा १० बजेको समयमा ईश्वरपुर १२ स्थित पुर्वपश्चिम राजमार्गको बाँके जंगलमा ना १ ब २५५६ नम्बरको सरकारी नम्बर प्लेटको गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा धनुषाधाम ३ बस्ने रोशन यादव गम्भीर घाईते भएका थिए । टाउकोमा चोट लागि गम्भीर अवस्थामा प्रादेशिक अस्पताल मलंगवामै उनको उपचार भइरहेको थियो । उनको पनि उपचारकै क्रममा राती १२ बजेर १० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले बताउनुभयो । प्रहरीका अनुसार उनी लालबन्दी नगरपालिकामा सब ईन्जिनियरको रुपमा कार्यरत थिए । घटना भएको सूचना पाउनसाथ पुगेको प्रहरीले उनको मोटरसाईकल नियन्त्रणमा राखेको छ । उनको शव प्रादेशिक अस्पताल मलंगवामै राखिएको छ ।
त्यसैगरी हरिपुरमा भएको दुर्घटनामा संलग्न रही फरार रहेको बोलेरो गाडी र चालक लालबन्दी न.पा. १७ रानीगंज स्थित भित्री सडकखण्डबाट प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।