भाइरल पोष्ट, हरिपुर ।।
पौष १३ गते ।। आगलागीबाट घरविहिन हुनुभएकी सानो जगतपुरकी उमामाया बरालले राहत पाउनुभएको छ ।
विद्युत सर्ट भई पौष ४ गते राती भएको आगलागिबाट घर गुमाउनुभएकी हरिपुर नगरपालिका २ सानो जगतपुरकी एक महिला बराललाई बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले घरमै पुगेर राहत सामाग्री प्रदान गर्नुभएको हो ।
आगलागि, बाढी पहिलो, शितलहर जस्ता दैवी प्रकोपमा परेकाहरुको उद्धार तथा राहत प्रदान गर्ने उदेश्यका साथ स्थापित बागमती सेवा समाजले पीडित बराललाई एक थान त्रिपाल, एक एक थान सिरक, डस्ना, ब्ल्यांकेट, चट्टाई, एक सेट हाईजेनिक किट, एक सरो बर्को, दुई थान झुल लगायतका राहत सामाग्री प्रदान गरेको अध्यक्ष कार्कीले बताउनुभयो ।
‘आगलागीबाट उहाँका सानो घर पूर्ण रुपमा नष्ट भएको रहेछ । आगलागिमै परेर दुई ओटा बाख्रा, अन्नपात, भाडावर्तन, लत्ताकपडा सबै नष्ट भएको रहेछ । चिसो र शितलहरको समयमा खुल्ला आकाशमुनि बास भएको थाहा पाएपछि वडा अध्यक्ष र समाजसेवीहरुको रोहवरमा उहाँलाई ओढ्ने ओछ्याउने जस्ता अत्ति आवश्यकीय सामाग्री प्रदान गरेका हौं ।’, बागमती सेवा समाजका अध्यक्ष कार्कीले भाईरल पोष्टसँग भन्नुभयो ।
बागमती सेवा समाजले कठ्यांग्रिँदो चिसोबाट बचाउने उदेश्यले न्यानो कपडा वितरण अभियान अन्तर्गत हरिपुर र ईश्वुरपुर नगरपालिकाका विभिन्न वडाका विपन्न परिवारलाई प्रतिपरिवार ८ हजार ५ सय दरका न्यानो कपडा वितरण गरिरहेको छ ।
राहत वितरण कार्यक्रममा हरिपुर २ का वडाअध्यक्ष निलविक्रम थापा, खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्षअर्जुन दाहाल, बागमती सेवा समाजका कर्मचारी र अन्य छरछिमेकीहरुको समेत उपस्थिति रहेको थियो ।
राहत सामाग्री पाएपछि बराल खुशि हुनुभएको छ । कठ्यांग्रिँदो चिसोमा ओढ्ने ओछ्याउने नहुँदा मरिएला भन्ने लागेको बेला बागमती सेवा समाजले बाँच्चे आशा जगाई दिएको बरालले बताउनुभयो ।