सोम दियाली, हरिपुर ।।
पौष ९ गते ।। शितलहर शुरु भएसँगै सर्लाहीमा पनि चिसो प्रभावितहरुलाई खोजी खोजी न्यानो कपडा वितरण गर्न सुरु गरिएको छ ।
चिसोले कठ्याङ्ग्रीएर अकालमा ज्यान गुमाउनुपर्ने अवस्था भएका विपन्न परिवारलाई चिसो र अकालमा मृत्यु हुनबाट जोगाउने उदेश्यले ईस्लामिक रिलिफ नेपालको आर्थिक सहयोगमा हरिवनमा रहेको बागमती सेवा समाजले न्यानो कपडा वितरण गर्न सुरु गरेको हो ।
जिल्लाको ईश्वरपुर र हरिपुर नगरपालिकाको दुई दुई स्थानबाट शनिबार एकैसाथ सुरु भएको न्यानो कपडा वितरण अभियान अन्तर्गत ती दुई नगरपालिकाका विभिन्न वडाका गरी एक हजार ५ सय विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिने बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्कीले बताउनुभयो ।
उहाँका अनुसार ईस्लामिक रिलिफ नेपालको सहयोग र सम्बन्धित पालिकाहरुको समन्वयमा आफ्नो संस्थाले ईश्वरपुरमा ८३७ र हरिपुरमा ६९३ गरी कुल एक हजार ५ सय परिवारलाई न्यानो कपडा वितरण गर्ने योजना रहेको छ ।
शनिबार ईश्वरपुरमा नगरप्रमुख मनोज कुमार आचार्य र हरिपुरमा नगरप्रमुख गोपाल पंजियारले सहयोगी संस्था ईस्लामिक रिलिफ नेपालका प्रतिनिधि हिमाल ओझा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, सम्बन्धित नगर पालिकाका जनप्रतिनिधि, सम्बन्धित सहयोगी संस्थाका कर्मचारीहरुको उपस्थितिमा न्यानो कपडा वितरण अभियानको शुभारम्भ गर्नुभएको छ ।

चिसो प्रभावितहरुलाई सिरक, डस्ना, ब्याङ्केट, ओढ्ने बर्को, थर्मल सेट, ज्याकेट, उलेन टोपी, पिई फोम, झुल, पानी तताउने केट्ली लगायतका १५ आईटमका सामाग्री वितरण गर्न सुरु गरिएको न्यानो कपडा वितरण अभियानका कार्यक्रम संयोजक सन्तोष नेपालले बताउनुभयो । उहाँका अनुसार प्रभावितहरुले प्रति परिवार ८ हजार ५ सय मूल्य बराबरको राहत सामाग्री पाउनेछन् । ‘८ हजार ५ सय बराबरको प्याकेज भित्रबाट उहाँहरुले छानी छानी आफूलाई जे जे आवश्यकता पर्छ त्यही लान सक्नुहुन्छ ।’, कार्यक्रम संयोजक नेपालल भन्नुभयो ।
न्यानो कपडा वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ईश्वरपुर र हरिपुर दुबै नगरपालिकाका नगरप्रमुखहरुले बागमती सेवा समाज र रिलिफ नेपाललाई धन्यवाद दिनुभयो । उहाँहरुले नगरपालिकामा कपडा बैंकको आवश्यकता भएकोले कपडा बैंक सञ्चालनमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
सर्लाहीसहित तराईमा वर्षेनी चिसोका कारण सयौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् । यस वर्ष पनि चिसोकै कारण अहिले सम्म तीन जनाले ज्यान गुमाईसकेका छन् ।