भाइरल पोष्ट, लालबन्दी ।।
मंसिर ४ गते ।। माधव नेपाल नेतृत्वको नेकपा(एकीकृत समाजवादी) पार्टी सर्लाहीले मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कार्वाहीका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
आइतबार लालबन्दी १ नवलपुरस्थित जडीबुटी प्रसोधन केन्द्रमा आयोजित चुनावी समीक्षा, बधाई तथा शुभकामना कार्यक्रम गर्दै आमसभाको चुनावमा पार्टीका उमेदवारहरुलाई हराउन भूमिका खेल्ने नेता तथा कार्यकर्ताहरुलाई कार्वाही गर्ने निष्कर्ष निकालेको सो पार्टीका संगठन विभाग प्रमुख भरत कुमार कार्कीले जानकारी दिए ।
जिल्ला अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षता तथा केन्द्रीय स्थायी कमिटी सदस्य एवम् मधेश प्रदेश अध्यक्ष रामचन्द्र यादवको प्रमुख आतिथ्यतामा भएको भेलाले ६ महिनाभित्र पार्टी संगठनलाई गाउँ नगरसम्म विस्तार गरिने निर्णय समेत गरेको छ । ‘आगामी ६ महिनाभित्र पार्टीका सबै भातृ संगठनहरु गठन गरिसक्ने र पार्टी संगठनलाई गाउँ, नगर तथा वडा स्तरसम्म विस्तार गर्ने निर्णय भयो ।’, संगठन विभाग प्रमुख कार्कीले भाईरल पोष्टसँग भने ।
स्थायी कमिटी सदस्य लक्ष्मण पौडेल, पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज रवीन्द्र बैठा, केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज डिल्लीप्रसाद उप्रेती, केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रदेश सभा सदस्य बेची लुंगेली लगायतको उपस्थिति रहेको थियो भेलाका अवसरमा सर्लाही क्षेत्र नम्बर १ को (ख) मा निर्वाचित प्रदेशसभा सदस्य बेची लुंगेलीलाई बधाईसहित सम्मान गरेको संगठन विभाग प्रमुख कार्कीले बताए । उनका अनुसार अब बन्ने मधेश प्रदेश सरकारमा प्रदेशसभा सदस्य लुंगेलीलाई मन्त्री बनाउन दबाल सिर्जना गर्ने समेत निर्णय गरेको कार्कीले बताए ।
मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एकीकृत समाजवादीले सर्लाहीको क्षेत्र नम्बर १(ख) मा बेची लुंगेली र क्षेत्र नम्बर ३(क)मा निवर्तमान प्रदेशसभा सदस्य डिल्ली प्रसाद उप्रेतीलाई उमेदवार बनाएको थियो । ती मध्ये लुंगेलीले भारी मतका साथ विजय हासिल गरिन् भने उप्र्रेती भने पराजित भए ।
उप्रेती पराजित हुनुमा पार्टीका नेता कार्यकर्ताको अन्तरघात तथा सगठबन्धनका सहयात्री दलहरुको असहयोग नै प्रमुख कारण रहेको भेलाले निष्कर्ष निकालेको सो पार्टीले जनाएको छ ।