राजु तामाङ, हरिहरपुरगढी ।।
पौष ३ गते, शनिवार ।। सुनाखरी कृषि सहकारी संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नरेन्द्र कुमार मैनाली (तिलबारी) को अध्यक्ष तथा हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष चेखबहादुर थिङको प्रमुख आतिथ्यतामा सिन्धुलीको हरिहरपुरगढी–७ पथराही स्थित संस्थाको आफ्नै प्राङ्गणमा १७औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाका अवसरमा संस्थाले आर्थिक वर्ष २०७८÷०७९ मा झण्डै २ करोड ७८ लाख ७९ हजार ६ सय पैतिसको कारोबार गरी १९ लाख ५९ हजार २९ रुपैयाँको नाफा आर्जन गरेको जानकारी दिएको छ । संस्थाको शेयरपुँजी २४ लाख १३ हजार २ सय र कुल बचत १ करोड ३९ लाख १४ हजार ९ सय ३१ रुपैयाँ रहेको संस्थाका पुर्व लेखा समिति संयोजक समेत रहेका कृष्ण नेपालीले जानकारी दिए । उनका अनुसार संस्थामा हाल ४ सय १३ जना शेयर सदस्य रहेका छन् ।
यसैबीच साधारणसभाकै अवसरमा संस्थाको नयाँ कार्यसमिति चयन गरिएको छ । नव गठित कार्यसमितिको अध्यक्षमा नरेन्द्र कुमार मैनाली, उपाध्यक्षमा बोध प्रसाद घिमिरे, राजेश कुमार मैनाली सचिव, नानीमाया थापा कोषाध्यक्षमा चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मोहन बहादुर रखाल, कृष्ण बहादुर मोक्तान, सोम बहादुर खड्का, सावित्रा भुजेल र चमेली माया राना चयन भएका छन् ।
साधारणसभाले संस्थाको ३ सदस्यीय लेखा समिति समेत चयन गरेको छ । लेखा समिति संयोजकमा प्रेमराज मैनाली, सदस्यद्वय नरेन्द्र कुमार मैनाली र गिता आले चयन भएका छन् ।
साधारणसभालाई प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङ, हरिहरपुरगढी ७ का वडा अध्यक्ष विच बहादुर मोक्तान, ८ का वडा अध्यक्ष धन बहादुर मोक्तान, ईकाई प्रशासनिक कार्यालयकी प्रमुख लक्ष्मीश्वरी तुईतुई, क्यानेश्वर उमाविका प्रअ राकेश मण्डल, नेपाल रेडक्रस सोसाईटी उपशाखा क्यानेश्वरका सभापति शेखर घिसिङ, महिला सहकारी संस्थाकी अध्यक्ष अमृता लामा, क्यानेश्वर दुग्ध सहकारी संस्थाका अध्यक्ष वकिल बहादुर भोलन, न्यू क्यानेश्वर यूवा क्लव अध्यक्ष मेख बहादुर रखाल लगायतको आतिथ्यता रहेको थियो ।
साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथी लगायतका वक्ताहरुले संस्थाको साधारणसभा सफलताको शुभकामना तथा नव गठित सञ्चालक समितिका पदाधिकारीहरुलाई बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।