राजु तामाङ, हरिवन ।।
पौष २ गते ।। सर्लाही ट्रक व्यवसायी संघको अध्यक्षमा पुनः रामबहादुर दवाडी निर्वाचित भएका छन् ।
आज (शनिवार) भएको चुनावमा अध्यक्षका अर्का उमेदवार कुमार प्रधानलाई १२ मत अन्तरले पराजित गर्दै दवाडी अर्को कार्यकालको लागि निर्वाचित भएका हुन् । दवाडीले ४८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी प्रधानले ३६ मत पाए ।

त्यस्तै संघको बरिष्ठ उपाध्यक्षमा रामकुमार खड्का विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी दामोदर वस्नेतलाई पराजित गर्दै खड्का वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । खड्काले ४५ मत पाए भने बस्नेतले ३७ मत पाए । त्यसैगरी पहिलो उपाध्यक्षमा ४७ मत ल्याएर अनिल कुमार अमात्य, दोश्रो उपाध्यक्षमा ४८ मतका साथ काली प्रसाद सापकोटा विजयी भएका छन् ।
सचिवमा ४२ मत ल्याएर हरिचन्द्र दास विजयी भएका छन् । उनले ब्रह्मदेव राय यादवलाई २ मतले पराजित गरेका हुन् । त्यस्तै सहसचिवमा रोशन भट्टराई ४८ मतसहित विजयी भएका छन् भने कोषाध्यक्षमा बालकुमार पोते निर्विरोध विजयी भएका छन् । संघका सदस्यहरुमा दहाल प्रसाद मैनाली, सूर्य प्रसाद दाहाल, लालदेव दास, नारायण प्रसाद सापकोटा, जयमान पाख्रिन, नवराज भट्टराई र विष्णु बहादुर दर्लामी विजयी भएका छन् ।
निर्वाचित मध्ये १२ जना दवाडी प्यानलबाट रहेका छन् भने प्रधान प्यानलबाट एक जनाले मात्रै सदस्य पदमा जितेका छन । त्यस्तै कोषाध्यक्ष पदमा भने बाल कुमार पोते निर्विरोध निर्वाचित भएका छन् ।
संघको सातौ साधारणसभा तथा चौथो अधिवेशन अन्तर्गत शनिबार उद्घाटन सत्र सकिएलगतै सुरु भएको बन्द सत्रमा सहमति जुट्न नसकेपछि सोही दिन साँझ अवेर शम्भु मैनाली संयोजक रहेको ५ सदस्यीय निर्वाचन मण्डलले निर्वाचन सम्पन्न गराएको थियो ।
संघको सातौं साधारण सभा तथा चौथो जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सर्लाही क्षेत्र नम्बर ३ का संघीय सांसद हरि प्रसाद उप्रेतीले समुद्घाटन गरेका थिए । उद्घाटन सत्रमै एमालेबाट समानुपातिक सांसद बनेकी सरस्वती सुब्बा, प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा, प्रदेश सदस्यका प्रत्यासी हरिवनका संस्थापक मेयर गणेश प्रसाद प्रसाई लगायतले सम्बोधन गरेका संघका संस्थापक अध्यक्ष राजन केसीले जानकारी दिए ।