राजु तामाङ ।।
पौष २ गते ।। सर्लाहीको दक्षिण पूर्वी हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले बाल विवाह र महिला हिंसा अन्त्यका लागि बालबालिका तथा किशोर किशोरीहरुसँग सहकार्य गर्ने बताएका छन् ।
आज हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिकाका किशोर किशोरीहरुका लागि दिईएको रुपान्तरण जीवनपयोगी सीप तथा आत्मरक्षा सम्बन्धी १० दिने तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा रहेको बालविवाह, बालश्रम, महिला हिंसा तथा अन्य लैंगिक हिंसा अन्त्यका लागि बालबालिकासँग सहकार्य गर्ने बताएका हुन् ।
मेयर साहले विशेष गरी तराईमा हुने बालविवाह न्यूनिकरणमा आवाज उठाउन बालबालिका तथा किशोर किशोरीहलाई आग्रह गरे । जवाफमा किशोर किशोरीहरुले पालिकामा हुने बालविवाहमा सहभागी नभई दिन गरेको आग्रहलाई मेयर साहले सहर्ष स्वीकार गरे । उनले आफ्नो पालिकामा किशोर किशोरीहरुमा आएको सकारात्मक परिवर्तनको जस बागमती सेवा समाजलाई दिए । बालबालिकाको क्षेत्रमा आफ्नो पालिकामा बाल संरक्षण समुदाय संलग्नता स्पोन्सरसीप कार्यक्रम सञ्चालन गरेर सराहनीय काम गरेको भन्दै उनले पनि बागमती सेवा समाजलाई धन्यवाद दिए ।
तालिमको समापन कार्यक्रमका अवसरमा सहभागी किशोर किशोरीहरुले आफूहले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले बागमती सेवा समाजले सञ्चालन गरेको बाल संरक्षण तथा समुदाय संलग्नता स्पोन्सरसीप कार्यक्रम अन्तर्गत आफूहरुले जीवनमै महत्वपूर्ण तालिम लिने अवसर पाएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रममा सहभागिका तर्फबाट पर्साका किशोर विशाल राउत र हरिपुर्वाकी किशोरी पिंकी यादव तथा प्रशिक्षकको तर्फबाट पिंकी शर्माले आफ्नो धारणा राखेका थिए ।
त्यस्तै हरिपुर्वा नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रामेश्वर राय, पर्सा गाउँपालिका ५ का वडा अध्यक्ष अनिल कुमार यादव, पत्रकार सोम दियाली लगायतले मन्तव्य राखेका थिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै हरिपूर्वा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त न्यौपानेले पनि तालिमले किशोर किशोरीमा सकारात्मक सोचको विकास हुने विश्वास व्यक्त गरे । उनले समाजमा हुने बालविवाह, महिला हिंसा न्यूनिकरणमा तालिम पश्चात सकारात्मक परिर्वतन आउनेमा आफू ढुक्क भएको बताए ।।

वल्र्ड भिजनको आर्थिक सहयोग तथा हरिवनस्थित बागमती सेवा समाजको आयोजनामा डिसेम्बर ८ देखि १७ (आज शनिबार) सम्म चलेको १० दिने तालिम मेयर विनोद कुमार साहको अध्यक्षतामा समापन भएको हो । समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा हरिपूर्वा नगरपालिकाका प्रशासकीय अधिकृत कुमार परियार, विभिन्न वडाका वडाअध्यक्ष, पर्सा गाउँपालिकाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।