भाइरल पोष्ट, हरिवन ।।
मंसिर २६ गते ।। मिलगेट उखु उत्पादक संघले उखुको मूल्य ७०५ रुपैयाँ कायम गर्न माग गर्दै इन्दुशंकर चिनी उद्योगमा आइतबार ज्ञापन पत्र बुझाएको छ ।
उखुको उत्पादन लागत मूल्य बढेको भन्दै सोही अनुपातमा उखुको मूल्य बढाउनु पर्ने माग राख्दै संघका सचिव एवम् कार्यावाहक अध्यक्ष राजकुमार उप्रेती र संघमा आवद्ध अगुवा किसानहरुको टोली उद्योगमै गएर उद्योगका प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद नेपाललाई ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्रमा भनिएको छ, ‘इन्धनमा भएको मूल्य वृद्धिले जोताईमा भएको लागत वृद्धि, वैंकको ब्याजदरमा वृद्धि, कृषि मजदुरको अभाव तथा मजदुरी ज्यालामा भएको वृद्धि तथा मलखादको अभावले उखु उत्पादन लागत बढेकोले उखुको मूल्य पनि वृद्धि गर्नुपर्ने देखिन्छ ।’
पत्रानुसार अहिले प्रति विगाह उखु उत्पादन लागत वार्षिक २ लाख ९४ हजार ९०० छ । उद्योगले दिने मूल्य ५२० र सरकारले अनुदान बापत दिने ७० रुपैयाँसहित उखुको जम्मा मूल्य ५९० रुपैयाँ छ । प्रति विगाह ४ सय क्वीन्टल उखु उत्पादन हुँदा अहिलेकै मूल्यमा विक्री गर्दा २ लाख ३६ हजार मात्रै हुन आउँछ । यसरी उत्पादन मूल्यभन्दा लागत मूल्य ५८ हजार ९०० बढी हुने देखिन्छ । बढी भएको रकम किसानको घाटा हो । यो घाटा पूर्ति गर्न किसानले प्रतिविगाह ५०० क्वीन्टल उखु उत्पादन गर्नुपर्ने देखिन्छ । तर सिँचाईको अभाव, माटोको उर्वराशक्तिमा कमी, उन्नत जातको विउको अभाव लगायतका कारण उत्पादन वृद्धि गर्न सकिने अवस्था छैन । त्यसैले किसानले न्यूनतम ७०५ रुपैयाँ मूल्य पाए जेनतेन उखुको लागत मूल्य उठ्न सक्नेछ भन्दै किसानहरुले उखुको मूल्य ७०५ नै कायम गर्न माग गरेका छन् ।
पूर्व प्रदेशसभा सदस्य एवम् अगुवा उखु किसान डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाका मेयर एवम् अगुवा किसान रमेश कुमार बुढाथोकी(कमल), नेपाली काँग्रेस हरिवन नगरसभापति एवम् अगुवा किसान रामशरण उप्रेती, नेकपा एमाले हरिवन अध्यक्ष एवम् अगुवा किसान सिताराम पोखरले, अगुवा किसान ओम बहादुर सुवेदी र अगुवा उखु किसान विनोद कार्की प्रतिनिधि भई बुझाइएको ज्ञापन पत्रमा संघका कार्यावाहक अध्यक्ष राजकुमार उप्रेतीले हस्ताक्षर गर्नुभएको छ ।
आफुहरुको मागमा उद्योगको तर्फबाट सकारात्मक प्रतिक्रिया आएको कार्यावाहक अध्यक्ष उप्रेतीले बताए । उनले उखु किसानको मागलाई उद्योगले गम्भीर रुपमा लिएरको र उद्योगको तर्फबाट माग सम्बोधनको हरसम्मत प्रयास गर्ने आश्वासन प्राप्त भएको बताए ।