सोम दियाली, चन्द्रनगर ।।
मंसीर २४ गते ।। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले बाल विवाहको न्यूनिकरण तथा उच्च शिक्षामा छोरीको पहूँच अभिवृद्धि गर्ने अभियानको सुभारम्भ गरेको छ ।
गाउँपालिका अध्यक्ष राजकुमार महतो, उपमेयर गीतादेवी महतो र अन्य जनप्रतिनिधिहरुले कक्षा १२ उतीर्ण गरी २२ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिएकी गाउँपालिकाको वडा नम्बर २ दनुवारीकी रेणु सिंहलाई विवाह मण्डपमै रु.५० हजारको चेक प्रदान गर्दै अभियानको सुभारम्भ गरेका हुन् ।
गाउँपालिका अध्यक्ष महतोले गाउँपालिकाभित्र बालबिबाह न्युनिकरण गर्न र उच्च शिक्षामा छोरीहरुको पहूँच अभिवृद्धि गर्ने उदेश्यले पहिलो निर्णय नै छोरीको शिक्षामा लगानी गर्ने निर्णय गरे अनुरुप नै रेणुलाई ५० हजार प्रदान गरेको बताए ।
उनले गाउँपालिकाले कार्यविधि बनाएरै उच्च शिक्षामा छोरीको पहुँच वृद्धि गर्न एउटा छोरीमा ६१ हजार लगानी गरेको बताए । उनका अनुसार कक्षा १२ उतीर्ण गरी स्तानतक तह प्रथम वर्षमा भर्ना हुने छोरीलाई समेत प्रोत्साहन स्वरुप ११ हजार दिने गरेको बताए ।
गाउँपालिकाबाट ५० हजार पाएपछि निकै खुशि लागेको बेहुली रेणु सिंहले प्रतिक्रिया दिईन् । उनले गाउँपालिकाबाट सुविधा लिन मात्रै नभई आफ्नो भविष्य उज्वल बनाउन २० वर्ष पार भएपछि मात्रै र कक्षा १२ पास गरेर या त्यो भन्दा धेरै पढेर मात्रै विवाह गर्न सुझाव दिईन् ।
बेहुलीका बुवा हरदेव कुमर सिंहले पनि गाउँपालिकाले ५० हजार दिएर आदर्श विवाहको रौनक बढाएको बताए । उनले छोरीलाई दाइजो नभई उच्च शिक्षा दिनुपर्छ भन्ने सोचेरै स्नातक तह पढन सुरु गरेपछि आदर्श बिवाह गरेको बताए । उनले गाउँपालिकाले थालेको अभियानबाट आफूसहित थुप्रै अभिभावक हर्षित भएको बताए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गितादेवी महतो, प्रमुख प्रशासकीय अधिकृत मदन बहादुर थिङ्ग, वडा नं. १ का वडा अध्यक्ष रामेश्वर प्रसाद महतो, ७ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, समाजसेवी चेतनारायण महतो लगायतका जनप्रतिनिधि तथा स्थानियहरुको उपस्थिति रहेको थियो ।
भिडियो हेर्न यो लिंक खोल्नु होला ।
https://fb.watch/hjYpR7qtuU/