भाइरल पोष्ट, हरिवन ।।
मंसिर १९ गते ।। १९औं महिला सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवस हरिवनमा धुमधाम मनाइएको छ । नगरपालिकाको स्वास्थ्य तथा मानव विकास शाखाको आयोजनामा एक भव्य कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवद्र्धनमा ऐक्यवद्धता भन्ने नारासहित हरिवन नगरपालिकाको पुरानो कार्यालय हालको वडा नम्बर ११ को कार्यालयमा भेला भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुले नयाँ नगरपालिकासम्म ब्यानरसहित ¥याली गरेका थिए । ¥यालीमा उपमेयर घलानसहित वडा नम्बर ११ का वडाअध्यक्ष शेख मेहवुव रेजा तथा अन्य जनप्रतिनिधिसमेत सहभागि थिए ।
नयाँ नगरपालिका कार्यालयमा नगर स्वास्थ्य तथा मानव विकास शाखाका प्रमुख शशिकान्त मिश्रको अध्यक्षता तथा नगर उपप्रमुख हरिमाया घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाकी सिनियर अनमी निरीक्षक लक्ष्मी आचार्यले गरेकी थिईन् भने स्वागत मन्तव्य नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले राखेका थिए ।
दिवसको अवसरमा आयोजित कार्यक्रममा बक्ताहरुले महिला स्वास्थ्य स्वयमसेविकाहरुको अथक मेहनतका कारण नै हरिवनमा स्वस्थ्य क्षेत्रमा उल्लेख्य परिवर्तन भएको बताएका थिए । उनीहरुले स्वास्थ्यको जग नै महिला स्वास्थ्य स्वयमसेविका भएकोले राज्यले उनीहरुको उचित सम्मान गर्नुपर्ने बताएका छन् ।
सोही अवसरमा स्वयमसेविकाहरुले पनि आफ्ना गुनासा र दुखहरु पोखेका थिए । उनीहले वर्षौदेखि स्वास्थ्यको क्षेत्रमा आफूहरुले भोकै प्यासै काम गरेको भएपनि राज्यले अहिले सम्म आफूहरुको कामको मूल्यांकन गर्न नसकेको बताएका थिए । ‘नामले पुगेन, नामले पुगेन हाम्रो पनि पेटछ नामले पुगेन…’ जस्ता गीतहरुमार्फत आफ्ना गुनासाहरु राखेका थिए ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुको तर्फबाट आफ्ना भनाई राख्दै स्वयमसेविका तारा पोखरेलले आफूहरुले २०५२ सालदेखि नै निःशुल्क स्वयमसेवा गर्दै आएको बताईन् । स्वयमसेविकाहरुको दिवसलाई जनप्रनिधिहरुले समेत वेवास्ता गरेको उनको गुनासो थियो ।
कार्यक्रममा बोल्दै हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानले महिला स्वास्थ्य स्वयमसेविकाहरुको गुनासो जायज भएकोले आफूहरुले आगामी दिनमा उनीहरुको गुनासो सम्बोधन गर्ने बताईन् । उनले स्वयमसेविकाहरुको समस्या समेटेर नगरपालिकामा निवेदन पेश गर्न आग्रह गरिन् ।
यसैबीच दिवसकै अवसरमा हरिवनका १२ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको छ । नगरभित्रका अत्रौली, घुर्कौली, सासापुर र हरिवन गरी ४ ओटै स्वास्थ्य चौकी अन्तर्गतका उत्कृष्ट कार्यसम्पादन गर्ने तीन÷तीन जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरिएको हो ।