भाइरल पोष्ट, हरिवन ।।
मंसीर १५ गते ।। सर्लाहीको हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल)ले महिला हिंसा न्यूनिकरणमा सबै लाग्नु पर्ने बताउनुभएको छ ।
महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नगरपालिकाको महिला तथा बालबालिका शाखाले आयोजना गरेको हिंसा न्यूनिकरण सम्बन्धी २ दिने कानूनी सचेतना तालिममा बोल्नुहुँदै मेयर बुढाथोकीले महिला हिंसा न्यूनिकरणमा नगरपालिकाले पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले महिलामाथि हुने हिंसालाई प्रोत्साहन गर्ने खालका गतिविधिमा हामी आफै सरिक हुने गरेकोले हिंसा न्यूनिकरण हुनुको सट्टा झन् बढ्दै गएको बताउनुभयो । जस्तो कि महिला पुरुष बसेर सँगै तास खेल्ने, सँगै बसेर मद्यपान गर्ने गर्दा पनि त्यसले हिंसालाई प्रसय दिने बताउनुभयो । त्यस्तै कानूनले विहे गर्ने उमेर २० वर्ष तोकेको भएपनि त्यो व्यवहारमा लागू हुन नसक्दा पनि महिला हिंसाका घटनामा कमी आउन नसकेको बताउनुभयो ।
उहाँले आफू समर्थित पार्टीका कार्यकर्ता र आफ्ना छोराछोरीले गरेको हिंसा चै ठिक अरुले गरेको हिंसा मान्ने गलत प्रवृतिका कारण पनि महिला हिंसाका घटनामा कमी आउन नसकेको बताउनुभयो । त्यस्तै उहाँले कतिपय अवस्थामा कानूनी कुराहरु थाहा नभएर पनि महिलाहरु हिंसा सहन बाध्य हुने गरेको पनि बताउनुभयो ।
यसैबीच मंसिर ९ गतेबाट सुरु भएको महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नगरपालिकाको महिला तथा बालबालिका शाखाले विभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । जस अन्तर्गत महिला हिंसा सम्बन्धी कानूनमा भएका व्यवस्थाहरुबारे जानकारी नभएका कारण पनि महिलाहरु हिंसाको शिकार हुने र हिंसा सहेरै बस्नुपर्ने वाध्यता रहेको भन्दै कानूनी सचेता सम्बन्धी तालिम राखिएको शाखाकी प्रमुख आशा खरेलले बताउनुभयो ।
उहाँका अनुसार तालिमममा हरिवनका वडा नम्बर ४,५,६, ८, ९सहित विभिन्न वडाका महिलाहरुको सहभागिता रहेको छ ।
‘सभ्य समाजको पहिचान ः लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने नारासहित यो वर्ष पनि महिला हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो ।