भाइरल पोष्ट, लालबन्दी ।।
मंसीर १५ गते ।। सर्लाहीको लालबन्दीमा जारी श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पाँचौ दिन सकिँदा झण्डै ६ लाख बढी रकम संकलन भएको छ ।
लालबन्दी ५ स्थित बस्तीपुर पुछारमा निर्माणाधिन बाबा विश्वकर्मा सन्यास आश्रम निर्माण सम्पन्न गर्ने र त्यहाँ गुरुकुल सञ्चालन गर्ने उदेश्यले मंसिर १० गते वृहद कलशयात्रासहित सुरु गरिएको महायज्ञमा बुधबारसम्म ६ लाख ६ हजार ५१० रुपैयाँ संकलन भएको आयोजक समितिका मान बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार महायज्ञमा दान तथा सहयोग गर्ने क्रम जारी छ । चर्चित भागवत मञ्जरी राधिका दासी जी प्रमुख बाचक रहनुभएको महायज्ञमा विहिबार लालबन्दी नगरपालिकाका प्रमुख, उपप्रमुख, विभिन्न वडाका वडाअध्यक्षहरु सहभागि हुने विश्वकर्माले बताउनुभयो ।
‘बाबा विश्वकर्मा सन्यास आश्रम बनाउने पवित्र उदेश्यका साथ हामीले जिल्लामै पहिलो पटक महायज्ञको आयोजना गरेका हौं । यो पाँच दिनमा ६ लाख बढी रकम संकलन भएको छ । सबै मान्छे चुनावमा व्यस्त भएका कारण हामीले अपेक्षा गरेभन्दा निकै कम सहयोग जुटेको छ ।’ आयोजक समितिका विश्वकर्माले भन्नुभयो, ‘आज(विहिबार) अन्तिम दिन आज पनि झण्डै ५÷६ लाखको हाराहारीमा सहयोग रकम संकलन हुने हामीले अपेक्षा गरेका छौं ।’ उहाँका अनुसार मनकारी व्यक्ति तथा केही संस्थाहरुले पनि मन्दिर निर्माणमा सहयोग गर्ने सप्ताहमा आएर कबुल गर्नुभएको छ । विभिन्न महानुभावबाट झण्डै एक लाख बढी रकम कबुल भएको बताउनुभयो ।
उहाँले लालबन्दी, हरिवन लगायतका स्थानबाट जनप्रतिनिधिसहितका महत्वपूर्ण व्यक्तिहरु आउन बाँकी रहेकोले आफूहरुले अपेक्षा गरे अनुरुपकै सहयोग रकम संकलन हुने दाबी गर्नुभयो । उहाँका अनुसार जारी महायज्ञ विहिबार राति जाग्राम बसी शुक्रबार विहान समापन हुनेछ ।