भाइरल पोष्ट, हरिवन ।।
मंसीर १३ गते ।। कुनै समय मधेश मधेशमा निषेध गरिएको नेकपा एमाले भर्खरै सम्पन्न आम चुनावमा संघ र प्रदेश दुबैतर्फ मधेशकै पहिलो दल बनेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको नतिजामा मधेश प्रदेशको ३२ प्रतिनिधिसभा सदस्यमध्ये नेकपा एमालेले ९ स्थानमा विजय हासिल गरेको छ । त्यस्तै प्रदेशभसाका ६४ सिट मध्ये एमालेले १५ सिट जितेको छ ।
२०७३ सालको फागुन २३ गते नेकपा एमालेलाई मधेश प्रदेशमा रोक लगाउँदा मलेठ घटना भएको थियो । सो घटनामा ५ जनाको ज्यान गएको थियो । मधेश विरोधी दलको रुपमा प्रचारित कांग्रेस पनि प्रतिनिधिसभा सदस्य तर्फ प्रत्यक्षमा ७ स्थानमा जित हात पार्दै मधेशमा दोस्रो पार्टी बनेको छ । त्यस्तै काँग्रेसले प्रदेशसभा तर्फ १३ सिट जितेको छ ।
पहिचान सहित प्रदेशको नामकरण र संघीयताका लागि लामो आन्दोलन गरेको जनता समाजवादी पार्टी(जसपा) तेस्रो नम्बरमा खुम्चेको छ । उसले प्रतिनिधि सभा तर्फ ६ सिट मात्र जित्न सकेको छ भने प्रदेशसभातर्फ ९ सिट जितेको छ ।
त्यस्तै अर्को मधेशी दल लोसपाले प्रतिनिधिसभातर्फ ३ ओटा सिट जितेको छ भने प्रदेशसभातर्फ ७ ओटा सिटमा जितेको छ । त्यस्तै नेकपा एमालेबाट अलगभई बनेको नेकपा एसले मधेश प्रदेशमा प्रतिनिधिसभामा २ र प्रदेशसभामा ४ सिट जितेको छ ।
मधेशमा नयाँ पार्टीको रुपमा उदाएको सिके राउतको जनमत पार्टीले प्रतिनिधिसभामा १ सिट जितेको छ भने प्रदेशसभा तर्फ ६ सिट जितेको छ । माओवादी केन्द्रले प्रतिनिधिसभामा १ सिट र प्रदेशसभामा ४ सिट जितेको छ । त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्रले ३ सिट र प्रदेशसभामा ६ सिट जितेको छ ।