भाइरल पोष्ट, हरिवन ।।
मंसीर ९ गते ।। सर्लाही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्यमा एमालेका हरि प्रसाद उप्रेती विजयी हुनुभएको छ ।
मंसीर ४ गते भएको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा चुनावी मैदानमा उत्रिनुभएका संविधानसभा सदस्य समेत रहनुभएका उप्रेती पाँचदलीय गठबन्धनका साझा उमेदवार माओवादी केन्द्रका नरेन्द्र साहलाई ७७० मतले पराजित गर्दै विजयी हुनुभएको हो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी नरेन्द्र साहले ३२ हजार १६८ मत प्राप्त गर्नुभयो ।
२०७० सालमा भएको दोश्रो संविधानसभा सदस्य निर्वाचनमा यहाँबाट निर्वाचित हुनुभएका उप्रेती २०७४ मा भएको निर्वाचनमा भने चुनाव लड्न पाउनु भएन । २०३७ सालमा चर्तुभुजेश्वर क्याम्पस हरिवनबाट अनेरास्ववियूमा आवद्ध हुँदै राजनीतिमा होमिनुभएका उप्रेती २०४४ सालमा पार्टीको सदस्यता प्राप्त गरी सक्रिय राजनीतिमा लाग्नुभएको हो ।
नेपाली सिने जगतका एक्सन हिरोको नामले प्रसिद्धि कमाउनुभएका नायक निखिल उप्रेतीका दाजु उप्रेती राजनीतिमा एक कुशल, सक्षम र ईमान्दार नेता मानिनुहुन्छ । पदमा रहे पनि नरहेपनि सदैवमा जनताकै सेवामा तल्लीन उप्रेतीले वियज पछि भाइरल पोष्टसँग प्रतिक्रिया दिनुहुँदै आफूलाई मतदान गर्ने मतदाताहरुलाई धन्यवाद दिनुभयो ।
उहाँले पैसाले नभई कामले मात्रै जनताको मन र मत जित्न सकिने बताउनुभयो । उहाँले आफू नभई यस क्षेत्रको विकास प्रेमी, न्यायप्रेमी जनता जितेको बताउनुभयो ।