सोम दियाली, लालबन्दी ।।
मंसीर ८ गते ।। मंसीर ४ गते सम्पन्न संघ र प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनका उमेदवारहरु विजयी भएका छन् ।
आज सम्पन्न मत गणना अनुसार प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उमेदवार लोकतान्त्रिक समाजवादीका रामप्रकाश चौधरी विजयी हुनुभएको छ भने प्रदेशसभा सदस्यतर्फ गठबन्धनकै बेची लुंगेली र उपेन्द्र महतो विजयी हुनुभएको छ ।
प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार मान बहादुर खड्कालाई ६ हजार ४३४ मतले पराजित गर्दै चौधरी विजयी हुनुभएको हो । चौधरीले २४ हजार ८ सय ३८ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४सय ४ मत प्राप्त गर्नुभयो । निवर्तमान सांसद एमाले जसपा गठबन्धनका साझा उमेदवार प्रमोद साह भने तेश्रो हुनुभएको छ । साहले १४ हजार २ सय ५५ मत मात्र प्राप्त गर्नुभयो ।
त्यस्तै सर्लाही क्षेत्र नम्बर १ को (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उमेदवार उपेन्द्र महतो विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार माओवादी केन्द्रका उमेदवार रामचन्द्रसिंह कुशवाहालाई पराजित गर्दै महतो दोश्रो कार्यकालका लागि प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पाँच दलीय गठबन्धनका साझा उमेदवार भएपनि माओवादी केन्द्रसँग भने महतोको मित्रवत प्रतिष्पर्धा रहेको थियो । महतोले १२ हजार २६५ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी कुशवाहाले १० हजार १३७ मत प्राप्त गर्नुभयो ।
त्यस्तै क्षेत्र नम्बर १ कै (ख) मा पाँच दलीय गठबन्धनकी साझा उमेदवार नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली निर्वाचित हुनुभएको छ ।
सत्ता गठवन्धनको साझा उम्मेदवार रहनुभएकी लुङ्गेली १३ हजार ६७७ मतका साथ निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालकी शान्ति कुमारी लामाले ६ हजार ९७५ मत पाउनुभयो । प्रदेशसभा सदस्यमा निर्वाचित लुङ्गेली सर्लाही १ (ख) का निवर्तमान सांसद समेत हुनुहुन्छ ।
लुङ्गेली ६ हजार ६९९ मतान्तरले दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।