भाईरल पोष्ट, हरिवन
मंसीर ५ गते ।। सर्लाहीमा ६२ प्रतिशत मत खसेको अनुमान गरिएको छ । आगामी ५ वर्षको लागि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि आइतबार जिल्लाको ३१२ वटा मतदानस्थल अन्तर्गतका ६०० वटै मतदान केन्द्रमा गरी ६२ प्रतिशत मत खसेको अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख निर्मल पोख्रेललेका अनुसार प्रारम्भिक विवरण अनुसार ६२ प्रतिशत मत खसेको हो । स्थानीय तह निर्वाचनमा गोली चलेको जिल्लाको धनकौल गाउँपालिका –२ स्थित आधारभूत विद्यालय र कृषि भवन मतदान केन्द्रमा पनि शान्तिपूर्ण रुपमा मतदान सकिएको छ ।
धनकौलको आधारभूत विद्यालय मतदान केन्द्रमा ८६८ मतदाता मध्य ७२८ जनाले मतदान गरेकोमा विवरण प्राप्त भएको छ । सर्लाही क्षेत्र नं.४ मा आफुले यस अघि भने जस्तैशान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको क्षेत्र नं ४ का निर्वाचन अधिकृत शम्भु बरालले बताए । उनी मतदान केन्द्रको निरिक्षणका क्रममा भेटिएका थिए ।
त्यहाँ नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी ठुलो संख्यामा परिचालन गरेको देखिन्थ्यो, भने हेलिकप्टरबाट पनि सुरक्षा निगरानी गरेको देखिन्थ्यो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला सवै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएको जानकारी दिए । जिल्लाको उत्तरी क्षेत्रमा भने मतदानको उत्साहका कमि देखिन्थ्यो । विशेषगरी सर्लाही क्षेत्र नं १ मा मुख्य राजनीतिक दलको उम्मेदवार नभएको कारण पनि मतदाताको उत्साहमा कमि आएको अनुमानछ । जिल्लामा चार लाख ७९ हजार ३८ जना मतदाता रहेको तथ्यांकमा उल्लेख छ । सर्लाहीमा चार प्रतिनिधि सभा सदस्यका लागि ६९ जना र आठ जना प्रदेश सभा सदस्यका लागि १३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा सहभागी भएका छन् ।
मतदान सम्पन्न भएसँगै अब मतगणनाका सुरु गरिने तयारी गरिएको छ । सर्लाही क्षेत्र नम्बर ३ मा पनि मतगणना गर्न सोमबार विहानै सर्वदलीय बैठक बोलाइएको छ ।