भाइरल पोष्ट, हरिवन ।।
मंसिर २ गते ।। नेकपा एमाले सर्लाही जिल्ला कमिटि सचिवालय सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३ क का अध्यक्ष तुलसी प्रसाद हुमागाईंले पार्टी परित्याग गरेका छन् ।
आसन्न चुनावमा नेकपा एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग तालमेल गरेपछि असन्तुष्ट भएर हुमागाईले पार्टी परित्याग गरेको एक प्रेस वक्तव्य मार्फत जनकारी गराएका छन् ।
उनले आज एक प्रेस वक्तव्य जारी गर्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी जिल्ला कमिटि सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ को अध्यक्ष लगायत सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका जानकारी गराएका हुन् । वक्तव्यमा नेता हुमागाईले लेखेका छन्, नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नाकाबन्दीकै नाईके उपेन्द्र यादवसँग गठजोड गरेर देश र जनतालाई धोका दिएको, राजावादी शक्तिहरुसँग साँठगाँठ गरेको, पार्टीभित्र फरक मत राख्नेलाई निषेध गर्ने गुटगत मानसिकता हाबी भएको कारण देश र जनताको पक्षमा आफ्ना बोलीलाई दबाउने कार्य हुँदै आएकोले आफूले पार्टीमा बसिरहन उपयुक्त नलागेकोले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिन बाध्य भएको उल्लेख गरेका छन् ।
आसन्न चुनावमा जसपा, राप्रपा लगायतका दलहरुसँग तालमेल गर्ने निर्णय गरे यता नेकपा एमाले परित्या गर्नेको भीड लागेको छ । झण्डै एकमहिना अघि केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि एमाले परित्याग गरेका थिए । त्यसपछि अर्की केन्द्रीय सदस्य रिता कुमारी साहले पनि एमाले परित्याग गरेकी थिईन । त्यस्तै केही दिन अघि पनि स्थानीय नेता सिताराम न्यौपाने लगायतले पनि एमाले परित्याग गरेको घोषणा गरेका थिए ।
यसरी चुनावको मुखमा केन्द्रीय स्तरका, जिल्ला स्तरका र स्थानीय स्तरका नेताहरुले पार्टी परित्याग गर्दा एमालेलाई चुनावमा घाटा लाग्ने देखिएको छ ।