भाइरल पोष्ट, हरिवन ।।
कार्तिक २८ गते ।। सर्लाहीको हरिवन नगरपालिका र बागमती नगरपालिकाले आज छुट्टा छुट्टै दुई ओटा महत्वपूर्ण सम्झौता गरेका छन् ।
हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकी र बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले हरिवन नगरपालिकाको बारुण यन्त्र साझेदारीमा सञ्चालन गर्ने र हरिवन नगरपालिकालाई ७५ हजार घनमिटर ढुंगा, गिट्टी बालुवा निःशुल्क उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
पहिलो सम्झौता अनुसार हरिवन नगरपालिकासँग रहेको बारुण यन्त्र सञ्चालनका लागि बागमती नगरपालिकाले हरिवन नगरपालिकालाई बार्षिक ३ लाख रुपैयाँ उपलब्ध गराउने छ । त्यस्तै दोश्रो सम्झैता अनुसार बागमती नगरपालिकाले हरिवन नगरपालिकालाई ७५ हजार घनमिटर ढुंगा, गिट्टी बालुवा निःशुल्क उपलब्ध गराउने छ ।
बारुण यन्त्र सञ्चालनका लागि बागमती नगरपालिकासँग सम्झौता भएको बताउनुहुन्दै हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले आफूहरुले बरहथवा, लालबन्दी लगायतका अन्य नगरपालिकासँग पनि साझेदारीमा बारुण यन्त्र सञ्चालनको लागि सम्झौता गर्न लागेको बताउनुभयो । त्यस्तै बागमती नगरपालिकाको वडा नम्बर ४ र १२ मा पर्ने निर्माणाधिन बागमती माछा पोखरीबाट उत्खनन् हुने झण्डै १ करोड ९ लाख बढी मुल्यको ढुंगा, गिट्टी बालुवा हरिवन नगरपालिकालाई निःशुल्क उपलब्ध गराउने बागमती नगरपालिका सहमत भएको बताउनुभयो ।
उहाँले माछा पोखरीबाट उत्खनन् हुने ढुंगा, गिट्टी बालुवा नेपालको संविधान, स्थानीय शासन सञ्चालन ऐन २०७४ र नगरसभा तथा नगरपालिकाले निर्माण गरेको कानून तथा गरेका निर्णयहरुका आधारमा हरिवन नगरपालिकालाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको बताउनुभयो ।
सम्झौता अनुसार हरिवन नगरपालिकाले निःशुल्क प्राप्त गर्ने ढुंगा गिट्टी बालुवा नगरपालिका आफैले उत्खनन् गरी ल्याउनुपर्ने, सम्झौता भएको मितिले ६ महिनाभित्र ल्याई सक्नुपर्नेछ । त्यस्तै हरिवन नगरपालिकाले प्रचलित मापदण्डको प्रयोग गरी ढुवानीको साधन प्रयोग गरी उत्खनन् गर्नु पर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
यसरी बागमती नगरपालिकाले निःशुल्क उपलब्ध गराएको गिट्टी बालुवाबाट हरिवन नगरपालिकाको झण्डै ३० किलोमिटर बाटो स्तरोन्नती हुने हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले बताउनुभएको छ ।