भाइरल पोष्ट, हरिपुर ।।
कार्तिक २० गते ।। सर्लाहीको हरिपुर नगरपालिकामा प्रविधिमैत्री स्मार्ट क्लास सुरु भएको छ । नगरपालिकाको समन्वयमा त्यहाँ स्थित ग्रामीण नारी उत्थान संघ र सेभ द चिल्ड्रेनको सहयोगमा नगरपालिकाको वडा नम्बर ७ चिताईनमा रहेको लक्ष्मीनाथ आधारभूत विद्यालयबाट प्रविधिमैत्री स्मार्ट क्लास सुरु गरिएको हो ।
शनिवार सो विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेश सहनीको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियारको प्रमुख आतिथ्यतामा विद्यालयमै एक कार्यक्रम गरी विद्यालयमा स्मार्ट कक्षा सुरु गरिएको थियो ।
कार्यक्रममा उपमेयर निलम देवी राय, शिक्षाविद उदय चौधरी, नगरका शिक्षा शाखा अधिकृत नागेश्वर राय, ग्रामीण नारी उत्थान संघ हरिपुरकी अध्यक्ष गोमा न्यौपाने, सेभ द चिल्ड्रेनका शिक्षा संयोजक राम बहादुर साह लगायतको आतिथ्यता रहेको थियो ।
स्मार्ट कक्षा सुभारम्भ कार्यक्रममा बोल्नुहुँदै बक्ताहरुले हरिपुरमा प्रविधि मैत्री स्मार्ट कक्षाको सुरुवातले शिक्षा क्षेत्रमा नयाँ आशाको विजारोपण भएको बताउनुभयो । उहाँहरुले नगरपालिकाले सुरु गरेको नयाँ प्रविधिको शिक्षा नगरभरीकै विद्यालयहरुमा लागू गर्न नगरप्रमुखलाई आग्रह गरे ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै मेयर गोपाल पंजियारले आफूले हरिपुर नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले लक्ष्मीनाथ आधारभूत विद्यालयमा प्रविधिमैत्री स्मार्ट क्लास परीक्षणको रुपमा सुरु गरिएको र यो सफल भए क्रमशः सबै विद्यालयहरुमा प्रविधिमैत्री स्मार्ट क्लास सुरु गर्ने योजनता रहेको बताउनुभयो ।