भाइरल पोष्ट, हरिवन
कार्तिक १८ गते ।। नेकपा एमालेकी केन्द्रीय सदस्य रीता कुमारी साहले राजीनामा दिनुभएको छ । एमालेले मंसीर ४ गते हुने चुनावमा जसपासँग गठबन्धन गरेको भन्दै असन्तुष्ट भएर उहाँले पार्टिको केन्द्रीय सदस्य पदबाट राजीनामा दिनुभएको हो ।
बिहीबार एक प्रेस बक्तव्य जारी गर्नुहुँदै केन्द्रीय सदस्य साहले नाकाबन्दीको विरोध गरेर राष्ट्रवादी छवि बनाएको नेकपा एमालेले नाकाबन्दीकै नाईके उपेन्द्र यादवसँग गठबन्धन गर्नु पार्टी, नेता कार्यकर्ता र राष्ट्रहीत विपरीत भएको भन्दै आफू पनि पार्टीमा बसीरहनु उचित नलागेर राजीनामा दिएको उल्लेख गर्नुभएको छ । त्यस्तै उहाँले एमालेले राप्रपासँग गरेको गठबन्धन पनि आफूलाई चित्त नबुझेको उल्लेख गर्नुभएको छ ।
उहाँले यथास्थितिवादी र प्रतिगामी तत्वहरुसँग गहिरो रुपमा एमालेले साँठगाँठ गरेको वर्तमान परिप्रेक्ष्यमा एमालेले मुलुकलाई निकास निद नसक्ने निष्कर्षसहित नेकपा एमालेको साधारण सदस्य समेत नरहने केन्द्रीय कमिटी सदस्यको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ ।
साह प्रभु साह खेमाको मानिनुहुन्छ । प्रभु साह सँगै उहाँ पनि एमालेमा आउनुभएको थियो । एमालेको आठौं जिल्ला अधिवेशनमा पनि उहाँले फरक मत राख्नुभएको थियो । गएको स्थानीय तह निर्वाचनमा ब्रह्मपुरी गाउँपालिकाको अध्यक्षमा उमेदवार बन्नुभएको साह पराजित हुनुभएको थियो ।
एमालेले जसपासँग गठबन्धन गरेपछि प्रभु साह लगायतका थुप्रै नेताहरु असन्तुष्ट हुन पुग्दा चुनावको मुखमा एमालेलाई निकै ठुलो झड्का लागेको छ । केही दिन अघि मात्रै केन्द्रीय सदस्य बद्री न्यौपानेले पनि पार्टीबाट राजीनामा दिनुभएको थियो ।
स्रोतका अनुसार अझै थुप्रै केन्द्रीय नेताहरुले एमालेबाट राजीनामा दिने तयारी गरेका छन् ।