भाइरल पोष्ट, लालबन्दी ।। दलका भ्रष्ट नेताहरुले देशै बेच्न लागेकोले देश बेचिनबाट नेपाली जनताले रोक्नु पर्ने सर्लाही क्षेत्र नम्बर १ का स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटाले बताउनुभएको छ ।
सर्लाही क्षेत्र नम्बर १ अन्तर्गत लालबन्दी नगरपालिकाको वडा नम्बर १५, देउरालीमा रहेको गाउँघर परिवर्तन कृषि सहकारी संस्थाको उद्घाटन गर्नुहुँदै स्वतन्त्र उमेदवार सापकोटाले देशमा भएभरका सबै कल कारखाना नेताहरुले नै बेचेर देश नै खोक्रो बनाई सकेको बताउनुभयो ।
‘देशै खोक्रो बनाई सकेका यिनीहरुले अब गठबन्धन गरेर चुनाव उठेका छन्, देश लुट्नेहरुले देश बनाउँछन् भनेर सोझा सिधा नेपाली जनताले अब पनि पत्याईदिनु पर्ने र तिनैलाई भोट दिनु पर्ने ?’ स्वतन्त्र उमेदवार सापकोटाले गठबन्धनप्रति आक्रोश पोख्दै भन्नुभयो,‘अब देश बनाउन गठबन्धन हैन राम्रो मान्छेले चुनाव जित्नु पर्छ । मन पर्दैन, योग्य लाग्दैन भने बरु मलाई भोट नदिनुस्, तर गठबन्धनलाई पनि भोट नदिनुस, दिनुहुन्छ भने राम्रो मान्छेलाई दिनुस् । जसले देशलाई बेचिनबाट रोक्न सकोस, विकास र समृद्धि ल्याउन सकोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै स्वतन्त्र उमेदवार सापकोटाले आफू नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्छ, संघीयता खारेज गर्नुपर्छ । ७५ जिल्लाबाट ७५ जना सांसद र ११ जनाको सानो आकारको मन्त्रीमण्डल बनाई देशको ढुकुटी दोहन हुनबाट जोगाउनुपर्छ भन्ने मुद्धा लिएर चुनावमा होमिएको बताउनुभयो । उहाँले आफूले अरुले जस्तो फ्रि भिषा, फ्रि टिकटको सपना नबाडेको बताउनुहुँदै उहाँले यूवालाई स्वदेशमै आत्मनिर्भर बनाई देश निर्माणमा खटाउनु पर्ने आफ्नो स्पष्ट धारणा रहेको बताउनुभयो । उहाँले कृषिलाई आधुनिकीकरण गर्नुका साथै पर्यटन व्यवसायको प्रवद्र्धनबाट नै देश समृद्धि बन्ने उहाँले दाबी गर्नुभयो ।
देश र जनतालाई धोका दिन्न भनी हलेसी गएर कसम नै खाएर देशमा व्याप्त लुटतन्त्र, भ्रष्टाचारको अन्त्यका लागि सूर्यमुखि फुलको बोट चुनाव चिन्ह लिएर चुनावमा होमिएको उमेदवार सापकोटाले बताउनुभयो । केही दिन अघि पत्रकार ऋषि धमलाले आयोजना गरेको मंसीर चार महासंग्राम कार्यक्रममा पनि सापकोटा गठबन्धन उमेदवारहरुमाथि खनिनु भएको थियो । त्यसपछि उहाँ एकाएक चर्चामा हुनुहुन्छ ।
सापकोटाले पछिल्लो समय मतदातासँगको भेटघाटलाई तिब्रता दिनुभएको छ । उहाँले केही दिन अघि पनि गरीब बस्तीमा गएर मतदाताहरुसँग भेट गरी उहाँहरुको समस्याको बारेमा जानकारी लिनुभएको थियो ।
लामो समय होटल व्यवसाय सञ्चालन गर्नुभएका सापकोटा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशको कोषाध्यक्ष समेत हुनुहुन्छ ।