भाइरल पोष्ट, हरिपूर्वा
कार्तिक ४ गते ।। सर्लाहीको हरिपूर्वामा हरिपूर्वा बाल सञ्जालद्वारा प्रदेशसभा सदस्यका उमेदवार विरेन्द्र प्रसाद अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
प्रदेश तथा संघीय सरकारका नीति तथा कार्यक्रममा बालबालिकाका सवाललाई घोषणापत्र÷व्यवहारमा कार्यान्वयन गर्न सञ्जालका अध्यक्ष अंगेश साह तथा उपाध्यक्ष साहिन खातुनले प्रदेशसभा सदस्य पदका स्वतन्त्र उमेदवार अधिकारीलाइ १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
‘उहाँले आफ्नो घोषणापत्र ल्याउँदै हुनुहुन्छ भन्ने थाहा पाएर घोषणा पत्रमा बालबालिकाका सवाललाई जोडदार रुपमा समावेश गर्न भन्दै हामीले ध्यानाकर्षण पत्र बुझाएका हौं ।’, अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएपछि सञ्जालका उपाध्यक्ष साहिन खातुन भन्नुभयो,‘सबै बालबालिकाहरु पाउनु पर्ने अधिकार सुनिश्चित गर्नु पर्ने राज्यको दायित्व हो । यसमा विशेषगरी राजनीतिक दलका नेताहरुको विशेष भूमिका रहन्छ ।’
ध्यानाकर्षण पत्रमा प्रदेश तथा संघीय सरकारले बालबालिकामैत्री योजना बनाउनु पर्ने र त्यसका लागि कुल बजेटको १५ प्रतिशत रकम छुट्याउनु पर्ने, प्रदेश तथा संघीय सरकारमा गौरवको आयोजनाको रुपमा बालमैत्री स्थानीय शासन, पोषणयुक्त संघ तथा प्रदेश, बालविवाह मुक्त देश, बालश्रममुक्त देश, किशोरकिशोरीमैत्री संघ तथा प्रदेश, परम्परागत हानिकारक अभ्यासको अन्त्य, विभेद, दुव्र्यवहार, हेपाइ, हिंसा लगायत प्रदेश तथा संघीय सरकारका रूपमा विकास गरी सोको घोषणा, कार्यान्वयन र दिगोपनका लागि काम गरिनु पर्ने ।, विद्यालय र बालबालिका शान्तिक्षेत्र हुन् भन्ने अवधारणाप्रति प्रतिवद्ध रहदै बालबालिकाको दलगत प्रयोग नहुने सवाल सुनिश्चित गरिनु पर्ने लगायतका बुँदाहरु समावेश गरिएको छ ।
बालबालिकाहरुले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन्,‘हाम्रो गाउँघर वस्तीमा बाटो, बत्ती, पानी, पुललगायतका भौतिक पुर्वाधारको जति खाँचो छ त्यतिकै खाँचो हामी बालबालिकाको समग्र विकासका लागि छ ।’
हरिपुर्वा नगरपालिकामा रहेको विशेष गरि, बालबिवाह, गुणस्तरीय शिक्षा, लागु औषध दुव्र्यसन, बाल श्रम, बालबालिकाहरुको विकास तथा पालिका स्तरीय संरचनाहरुमा बालबालिकाहरुको नेतृत्वदायी सहभागिताको लागि ध्यानाकषर्ण गरिएको उपाध्यक्ष खातुनले भन्नुभयो ।