भाइरल पोष्ट, लालबन्दी ।। आगामी मंसीर ४ गते हुने चुनावमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्र उमेदवारी दिनुभएका होटल व्यवसायी बैकुण्ठ सापकोटाले चुनावी प्रचार प्रसारलाई तिव्रता दिनुभएको छ ।
केही दिन अघि मात्रै उहाँले ११ ओटा राष्ट्रिय तथा १६ ओटा क्षेत्रीय प्रतिवद्धतासहितको घोषणा पत्र सार्वजनिक गर्नुभएका व्यवसायी सापकोटाले मतदाताहरुको घरघरमा पुगेर आफूलाई भोट दिन मतदातासँग आग्रह गर्नुभएको छ ।
दलगत नेताहरुले चुसीचुसी देश नै खोक्रो खरानी बनाईसकेको भन्दै देश जोगाउन आफूले उमेदवारी दिएकोले आफूलाई सूर्यमुखि फुलको बोट चुनाव चिन्हमा भोट दिन मतदातासँग आग्रह गरेको बताउनुभयो । उहाँले प्रदेश संरचना खारेज गर्ने, नेपाललाई हिन्दु राष्ट्र कायम गर्ने, नेपाललाई भ्रष्टहरुको चंगुलबाट जोगाउने, देशमा सुशासन र समृद्धिको थालनी गर्न आफू जस्तै निस्कलंक स्वतन्त्र व्यक्तिहरुले चुनाव जित्नु पर्ने दाबी गर्नुभयो ।
पटक पटक दल र तिनका उमेदवारलाई भोट दिए पनि देश विकास हुनुको सट्टा झन्झन् खोक्रो बन्दै गएकोले पनि अव पार्टीको विकल्प नै स्वतन्त्र भएको बताउनुहँुदै व्यवासयी सापकोटाले मतदाता पनि दल र तिनका नेताहरुसँग आजित भईसकेको आफूले पाएकोले यस पटक दलहरु हराएर जाने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले आफ्नो क्षेत्रमा पर्ने सबै ४९ ओटै वडामा पुगेर मतदातासँग आफूलाई भोट दिन आग्रह गर्ने बताउनुभयो । उहाँले अब पनि नेपाली जनताले विवेक प्रयोग गरेनन् र फेरी पनि तिनै भ्रष्ट र देश बेचुवा नेताहरुलाई नै भोट दिएभने पछि पछुताउनुको विकल्प नहुने बताउनुभयो ।
के के छन्, सापकोटाको घोषणा पत्रमा ?
राष्ट्रिय प्रतिवद्धता
१.साविक ७५ जिल्ला र ५ विकास क्षेत्र कायम गरौं ।
२.७५ वटा मात्र संसदीय क्षेत्र र बढीमा ११ जनाको मात्र केन्द्रीय मन्त्रीमण्डल गठन गरौ । (हाम्रो यो सानो देशमा यति नै काफी हुन्छ । )
३.लुटको सामाज्य बनेको प्रदेश तथा प्रदेश मन्त्रालय खारेजका लागि आवाज बुलन्द बनाउने छु ।
४.स्थानीय सरकारलाई पूर्ण अधिकार दिलाउन पहल गर्नेछु ।
५.स्वदेशी उत्पादनलाई ब्राण्डिङ गरेर बजारीकरण गराउन अभियान चलाउनेछु ।
६.विदेशी आयात कम गराई नेपाली उत्पादनलाई प्राथमिकतामा राखेर निर्यात गर्न सक्ने वातावरण सिर्जनामा प्रयास गर्नेछु ।
७.पर्यटन क्षेत्रलाई अगाडि बढाई विदेशी मुद्रा आर्जनको वातावारण सिर्जनाको लागि प्रयास गर्नेछु ।
८.हिन्दु राष्ट्र कायम गराउन पहल गर्नेछु र सधैं देश र जनताको पक्षमा सदनमा आफ्ना आवाजहरु उठाई रहनेछु ।
९.नेपालीकै लगानीमा जलविद्युत आयोजनाको निर्माण गराई देशका हरेक क्षेत्रमा औद्योगिककरणमा जोड दिन घचघच्याउने छु ।
१०.कृषि प्रधान देश भनिँदै आएको छ, यसलाई प्राथमिकतामा राखौ र यान्त्रिकरण गरौं, समयमै किसानलाई मल दिउ, अन्न आयात हैन निर्यात गरौं । रासायनिक मलको कारखाना नेपालमै स्थापना गरौं । किसानलाई पर्याप्त अनुदान दिई प्रतिष्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्नेछु ।
११. हरेक क्षेत्रलाई छुट्टै कृषि पकेट क्षेत्र बनाउन पहल गर्नेछु ।
क्षेत्रीय प्रतिवद्धता
१.वर्तमान अवस्थामा लामो समयदेखि यस क्षेत्रका जनताले आफ्नो सम्पतिको अधिकार भोजचलन गर्न पाएका छैनन् । ऐलानी जग्गालाई नम्बरी बनाउन प्रभावकारी भूमिका निर्वाह गर्नुका साथै सुकुम्वासी समस्या समाधान गर्न पर्याप्त भूमिका निर्वाह गर्नेछु ।
२.लालबन्दी, ईश्वरपुर, हरिपुर, कविलासी र चन्द्रनगरमा आवश्यक उपकरणसहितको स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालको विकास तथा ति स्थानमा एक एक वटा एम्बुलेन्स राख्ने व्यवस्था मिलाउनेछु ।
३.यस क्षेत्र भित्र रहेका मठ मन्दिर, गुम्वा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुलाई संरक्षण तथा पुनःनिर्माणको कार्यक्रम अघि बढाउनेछु ।
४.हाम्रो ऐतिहासिक पृष्ठभूमि बोकेको चिताईन मन्दिर, नाडीमनताल क्षेत्र, ईश्वरपुर नगरपालिका १२ को राजारानी थुम्को र लालबन्दी १२ को जल्केनी मन्दिर, ईश्वरपुर ४ को सागरनाथ मन्दिरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गरिनेछ ।
५.लालबन्दी नगरपालिका १४ स्थित नारायण खोला र ईश्वरपुर १२ को माथिल्लो भेगमा वर्षामा समेत यातायात सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै ति स्थानमा खानेपानीको व्यवस्था मिलाउनेछु ।
६.आफ्नो क्षेत्रभित्र स्वच्छ खानेपानीको व्यवस्था मिलाउनेछु ।
७.गरीब तथा निमुखा जनताका बालबच्चाहरुर्ला विद्यालय जानको लागि उचित प्रवन्ध मिलाउनेछु ।
८.युवा तथा खेलकुद प्रेमी भाईबहिनीहरुको लागि खेलकुदको क्षेत्रको विकासको लागि उत्साहित गर्न आवश्यक रकम विनियोजनको व्यवस्था मिलाउनेछु । त्यसैगरी प्रत्येक नपा र गापामा एउटा सुविधा सम्पन्न कवर्डहलको व्यवस्था गर्नेछु ।
९.सागरनाथको जंगलबाट नाडीतालसम्म साईकल कुदाउने हवको रुपमा विकास गर्ने जमर्को गरेको छु ।
१०.जेष्ठ नागरीक, अपाङ्ग तथा एकल महिलाको लागि जिविकोपार्जन तथा स्वास्थयको लागि आवश्इक व्यवस्था मिलाउनेछु ।
११.स्तरीय तथा उपयोगी प्राविधिक शिक्षाको विकासको लागि प्रत्येक नपा र गापामा कम्तीमा एक एक वटा प्राविधिक शिक्षालय खोल्न विशेष प्रयत्न गर्नेछु ।
१२.नदी कटान क्षेत्र नियन्त्रण गर्न विशेष भूमिका निर्वाह गर्नेछु ।
१३.कृषि उपजलाई बजार सम्म पु¥याउन सहज तुल्याउन बाटोको विकासमा पर्याप्त ध्इान दिनेछु ।
१४.अवैध रुपमा उत्खनन् हुँदै आएका नदीजन्य पदार्थ ढुंगा, गिट्टी बालुवामा रोक लगाउन विशेष पहल गर्नेछु ।(चुरे संरक्षणको प्रयास स्वरुप)
१५. हाल सम्म अपारदर्शीरुपमा खर्चहुँदै आईरहेको संसदीय विकास कोषको रकमलाई पारदर्शि रुपमा खर्च गर्ने प्रतिवद्धताका साथै उक्त रकममा हुने गरेको कमिसनको खेललाई अन्त्य गरिनेछ ।
१६. हिमाल पहाड, तराई, कोही छैन पराई भन्ने मान्यतालाई आत्मसाथ गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु ।