भाइरल पोष्ट, कार्तिक २ गते ।। लुटेराहरुले चलाएको गोली लागेर सगुन साकोसको बागमती सेवाकेन्द्रका प्रमुख घाइते भएका छन् ।
घाईते हुनेमा हरिवनमा मुख्य कार्यालय रहेको सगुन साकोसको बागमती नगरपालिका १ स्थित मिलनचोकमा रहेको शाखामा प्रमुखको रुपमा कार्यरत लालबन्दी नगरपालिका २ बस्ने अन्दाजी ३४ वर्षिय साजन कार्की रहेका छन् । उनलाई हरिवनस्थित सरस्वती हस्पिटलमा सामान्य उपचारपछि एम्बुलेन्समा राखेर काठमाण्डौं लगिएको छ ।
आज विहान साँढे १० बजेको समयमा भारतीय नम्बर प्लेटको मोटरसाईकलमा आएका तीन जना लुटेराहरु सेवाकेन्द्र सेवाकेन्द्र प्रवेश गरे । र उनीहरुले सेवाकेन्द्र प्रमुख कार्कीलाई पैसा मागे । तर कार्कीले उनीहरुको प्रतिकार गर्न खोजे त्यसपछि लुटेराहरुले कार्कीमाथि ४ राउण्ड गोली प्रहार गरे ।
लुटेराहरुले सेवाकेन्द्र लुट्न खोजेका थिए तर कार्कीले प्रतिकार गरेपछि उनीमाथि ४ राउण्ड गोली प्रहार भएको सगुन साकोसका संस्थापक अध्यक्ष बाबुराम घिमिरेले बताए ।
घिमिरेका अनुसार प्रारम्भिक जानकारी अनुसार लुटेराहरुले रकम भने लुट्न पाएनन् । घाइते कार्कीको काँध, पाखुरा, तिघ्रा र कोखामा गरी चार ठाउँमा गोली लागेको छ । उनीमाथि गोली प्रहार गर्ने लुटेराहरु भने फरार भएका छन् ।