भाइरल पोष्ट, हरिवन ।।
असोज २४ गते ।। डेंगी रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अभियान अन्तर्गत मंगलवार हरिवनमा लामखुट्टे मार्ने औषधि छिटिने भएको छ ।
हरिवनसहित देशभर बढ्दै गएको डेंगी रोगको नियन्त्रण तथा रोकथामका लागि स्थानीय तहलाई अभियान नै सञ्चालन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट परिपत्र भएपछि हरिवन नगरपालिकाको स्वास्थ्य शाखाले पनि लामखुट्टेले फुल पार्ने ठाउँहरु खोजौं र नष्ट गरौं भन्ने नारासहित अभियान सञ्चालन गरेको र अभियान अन्तर्गत नै मंगलवार हरिवनमा लामखुट्टे मार्ने औषधी छिट्न लागिएको हरिवन नगर स्वास्थ्य शाखाले जनाएको छ ।
नगर स्वास्थ्य शाखाका अनुसार अभियान अन्तर्गत भोलि विहान ७ बजे वडा नम्बर ११ मा मुनेश्वर साहको घर हुँदै पश्चिम परिवार नियोजनको अफिससम्म रोड दायाँबाया र नयाँरोड राजमार्गको दायाबायाँका स्थानहरुमा स्प्रे गर्न लागिएको हो ।
लामखुट्टे मार्ने औषधी छिट्ने अघिल्लो दिन सोमबार बेलुकी हरिवनमा डेंगी सम्बन्धी सचेतना ¥याली निकालिएको छ । नगरप्रमुख रमेश कुमार बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान, हरिवन ११ का वडा अध्यक्ष शेख मेहबुब रेजा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधान, नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंह, सासापुर स्वास्थ्य चौकीका प्रमुख श्याम विनोद कुशवाहा, स्वास्थ्य शाखाका कर्मचारीहरुको सहभागितामा सचेतनामूलक ¥याली निकालिएको नगर स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो ।
हरिवनलाई डेंगीमुक्त नगर बनाउने उदेश्यले खोजौं र नष्ट गरौं अभियान अन्तर्गत नै लामखुट्टे मार्ने औषधी छिट्न लागिएको नगर प्रमुख रमेश कुमार बुढाथोकी(कमल)ले बताउनुभयो । उहाँले डेंगी रोग नियन्त्रण तथा रोकथाम अभियानमा आवश्यक सहयोग गर्न नगरवासीलाई आव्हान समेत गर्नुभयो ।
त्यस्तै नगर स्वास्थ्य शाखाका प्रमुख शशीकान्त सिंहले अहिले जुनसुकै बेला लामखुट्टेले टोकेपनि त्यसबाट डेंगी संक्रमणको जोखिम रहेकोले डेंगीबाट बच्ने उत्तम उपाय नै लामखुट्टेको टोकाईबाट बच्नु रहेको बताउनुभयो । उहाँले घर वरपर रहेका खाली बोटल, टायर तथा फोहोरहरु लामखुट्टेको बासस्थान भएकोले ती स्थानहरु सफा गर्नु पर्ने बताउनुभयो । त्यस्तै उहाँले घरमा राखिएका गमला, नावरको पानीमा समेत लामखुट्टेले फुल पार्ने भएकोले ती स्थानहरुमा पानी जम्न नदिन नगरवासीलाई आग्रह गर्नुभयो ।
एडिज एजिप्टाई जातको लामखुट्टेको टोकाईबाट डेंगी रोग लाग्ने गर्दछ । हरिवनमा डेंगी संक्रमितहरुको यकिन तथ्यांक नभएपनि ३०÷३५ जनाभन्दा बढी या घटी पनि हुन सक्ने नगर स्वास्थ्य शाखाको अनुमान रहेको छ ।