सोम दियाली, हरिवन ।।
असोज २४ गते ।। आगामी मंसीर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ३ मा संघीय संसदका लागि १३ जनाको उमेदवारी परेको छ भने सोही क्षेत्रमा प्रदेशसभा तर्फ (क) मा १८ जना र (ख)मा १९ जनाको उमेदवारी परेको छ ।
संघीय संसदका लागि क्षेत्र नम्बर ३ मा १० जना स्वतन्त्रसहित ८ ओटा दलका उमेदवारहरुले उमेदवारी दर्ता गराएका छन् । जसमा बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता संविधानसभा सदस्य नरेन्द्र साहले उमेदवारी दर्ता गराउनुभएको छ । उहाँको पहिलो नम्बरमै दर्ता रहेको छ । त्यसैगरी संविधानसभा सदस्य एमाले नेता हरि उप्रेतीले पनि संघीय संसदका लागि उमेदवारी दिनुभएको छ । एमाले जसपा गठबन्धनको साझा उमेदवारको रुपमा उमेदवारी दिनुभएका उप्रेतीको ६ नम्बरमा उमेदवारी दर्ता भएको छ ।
त्यसैगरी संघीय संसदकै लागि रवि लामिछाने नेतृत्वका राष्ट्रिय स्वतन्त्र पार्टीबाट पञ्च बहादुर सिङ्तानले उमेदवारी दर्ता गराउनुभएको छ । हाम्रो नेपाली पार्टी नामक पार्टीकी भवानी घिमिरे, मंगोल अर्गनाईजेशनका ईन्द्रमान वाईवा, जनमत पार्टीबाट त्रिभुवन कुमार सिंह र बहुजन एकता पार्टीबाट राजकुमार पासवानको उमेदवारी पनि परेको छ । त्यस्तैगरी संघीय संसदकै लागि अभिषेक प्रसाद साह, उत्तर कुमार मैनाली, ओम प्रसाद मैनाली, कृष्ण राय यादव, रामविहारी महतो र श्याम बाबु यादवले पनि स्वतन्त्र उमेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै प्रदेशसभा सदस्य तर्फ क्षेत्र नम्बर ३(क)बाट निर्वतमान प्रदेशसभा सदस्य एकीकृत समाजवादी पार्टीका नेता डिल्ली प्रसाद उप्रेतीले बाम लोकतान्त्रिक गठबन्धनको साझा उमेदवारको रुपमा उमेदवारी दर्ता गराउनुभएको छ । एमाले जसपा गठबन्धनका साझा उमेदवारका रुपमा एमाले नेता हरिवनका संस्थापक मेयर गणेश प्रसाद प्रसाईले उमेदवारी दिनुभएको छ । त्यस्तै राप्रपाबाट श्रीराम महतो, बहुजन एकता पार्टीबाट सोमन दुसाद, हाम्रो नेपाली पार्टीबाट ईन्द्रजीत प्रसाद महतो र मंगोल नेशनल अर्गनाईजेशन पार्टीबाट बुद्धलाल रुम्बाले उमेदवारी दिनुभएको छ । त्यस्तै क्षेत्र नम्बर ३ कै (क) बाट हरिवन नगरपालिकाकी संस्थापक उपमेयर रेणुका कुमारी पौडेल, स्वतन्त्र व्यक्ति कमल बहादुर कार्की, कल्याणी उप्रेती, कविर लामा, गंगालाल थिङ्ग, जंगली महतो, जवाहारलाल कुशवाहा, रोशन लामा, रामजिवन साह, महेश कुमार कटुवाल, वैकुण्ठ प्रसाईं र बुद्धिप्रसाद विमलीले उमेदवारी दर्ता गराउनुभएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यकै लागि ३को (ख) बाट नेपाली काँग्रेसका नेता संविधानसभा सदस्य हरेस प्रसाद महतोले वाम गठबन्धनको साझा उमेदवारको रुपमा उमेदवारी दिनुभएको छ । त्यस्तै एमाले जसपा गठबन्धनको साझा उमेदवारको रुपमा जनता समाजवादी पार्टीका संजक कुमार यादवले पनि उमेदवारी दिनुभएको छ । त्यस्तै राप्रपाबाट मुकेश कुमार साह, जनता प्रगतिशिल पार्टी नेपालबाट शेख शहिदुल्लाह, जनमत पार्टीबाट शत्रुधन साह सोनार, हाम्रो नेपाली पार्टीबाट सुनिल प्रसाद गुप्ता र बहुजन एकता पार्टीबाट अहिमन महराले प्रदेशसभा सदस्यका लागि उमेदवारी दिनुभएको छ ।
त्यस्तै प्रदेशसभा सदस्यकै लागि क्षेत्र नम्बर ३ (ख)बाट कमल साह कल्वार, किशोरी ठाकुर, गायत्री कुमारी, घनश्याम झा, दिलिप कुमार महतो, दिलिप कुमार राय, नवल किशोर साह, नेमिवालाल राय, रामेश्वर राय यादव, भाग्यनारायण महतो, राकेश कुमार राय र सरोज कुमार रायले पनि उमेदवारी दिनुभएको छ ।