भाइरल पोष्ट, बलरा ।। नेकपा माओवादी केन्द्रका पूर्व उपत्यका ईन्चार्ज तथा पूर्व केन्द्रीय सदस्य श्रीचन यादव(सुजन)ले पार्टी परित्याग गरेका छन् ।
उनले सर्लाही ४(ख)मा आफूले नै टिकट पाउने दाबी गरेका थिए । तर टिकट भने अर्का नेता फकिरा महतोले पाए । टिकट पाउने आशा गरेका उनले टिकट नपाएपछि रुष्ट भएर शनिबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आईतबार पत्रकार सम्मेलन गरेर स्वतन्त्र उमेदवारी घोषणा गर्ने भाईरल पोष्ट सँगको टेलिफोन कुराकानीमा बताएका छन् ।
बलरा नगरपालिका ११ छटौना घर भएका नेता यादव आसन्न संघ र प्रदेशसभा सदस्य निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ४(ख)बाट उमेदवारी दिने तयारीमा थिए । उनले चुनावको मिति घोषणा भएको समयदेखि नै प्रदेशसभा सदस्य पदमा उमेदवारी दिने घोषणा गर्दै त्यसको घनीभूत तयारी गरेका थिए । उनले आफ्नो क्षेत्रका जनताका घर घरमा गएर आफूलाई मत दिन आग्रह समेत गरिसकेका थिए । तर अन्तिम समयमा आएर पार्टीले उनलाई टिकट नदिने भएपछि उनले पार्टी परित्याग गरेको घोषणा गर्दै स्वतन्त्र उमेदवारी दिने तयारी गरेका हुन् ।
द्वन्दकाल देखि नै माओवादी केन्द्रमा सक्रिय भएका उनी पार्टी कामकै शिलशिलामा पटक पटक जेल समेत परेका थिए । उनले आफ्नो सम्पूर्ण जीवन नै पार्टीमा समर्पित गरेको दाबी गरेका छन् । उनले गएको स्थानीय तह निर्वाचनमा समेत बलरा नगरपालिका र रामनगर गाउँपालिकामा माओवादी केन्द्रका उमेदवारहरुलाई जिताउन अहम भूमिका खेलेका थिए ।
पार्टीले आफ्नो योगदानको उच्च मूल्यांकन गरेर टिकट देला भन्ने आशामा बसेका उनले टिकट अर्कैले पाएपछि एकाएक छांगाबाट खसेको अनुभूति भएको बताए । ‘जुन पार्टीका लागि भनेर पूरै जिवन समर्पण गरियो, त्यही पार्टीले आज योगदानको मूल्यांकन नै गर्दैन भने त्यही पार्टीमा बसिरहनु पर्छ जस्तो लागेन, त्यसैले पार्टी परित्याग गरेको घोषणा गरें । अब स्वतन्त्र उमेदवारी दिन्छु ।’, नेता यादवले भने ।
हुन त उनको नाम बलरा, गोडैता, रामनगर लगायतका पालिका कमिटीले प्रदेशसभा सदस्य उमेदवारका लागि सिफारिस गरि पठाएकै थियो । तर पनि टिकट भने उनले पाउन सकेनन् । नेता यादव अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । मातृका यादवसँग पनि उनको सामिप्यता रहेको बुझिन्छ । तर पनि उनले टिकट नपाउँदा उनलाई नजिकबाट चिन्ने नेता कार्यकर्ताहरु भने आश्चर्य चकित बनेका छन् ।