भाइरल पोष्ट,काठमाडौं ।।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ गोरखा क्षेत्र नम्बर–२ मा उम्मेदवार बन्ने निश्चित भएको छ । उनी गोरखाबाट निर्वाचन लड्ने निश्चित भएसँगै उनीविरुद्ध एमालेले अब्दुस मियाँलाई टिकट दिएको छ ।
पूर्वआईजीपी सवेन्द्र खनालसँगै ६ असोजमा एमाले प्रवेश गरेका मियाँलाई एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध गोरखामा उठाउने निर्णय गरेको हो । ३० वर्षीय मियाँ रवीन्द्र मिश्र नेतृत्वको तत्कालीन साझा पार्टीबाट राजनीति सुरु गरेका थिए । युथ इनिसिएटिभको अध्यक्ष त्याग्दै साझा पार्टीमा लागेका उनी केही समय विवेकशील साझा पार्टीको युवा भातृ संगठनको अध्यक्षको जिम्मेवारीमा थिए ।
पार्टीमा विवाद देखिएपछि मियाँले विवेकशील साझा पार्टी परित्याग गरी काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । तर एमाले प्रवेश गरेपछि उनलाई पार्टीले गोरखाबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।