भाइरल पोष्ट,हरिवन ।।
धर्मको मामलामा मुस्लिमहरु कट्टर हुन्छन् भनिन्छ । तर नेपालमा के मुसलमान, के हिन्दु, के बौद्ध, के ईसाई सबै धर्मका मानिसहरुले एक अर्काको धर्मको सम्मान मात्रै गर्दैनन् सँगसँगै मनाउँछन् पनि ।
यति हुँदा हुँदै पनि मुसलमानहरुले पनि हिन्दु चाडपर्व मनाउँछन् भन्दा आश्चार्य भने पक्कै मान्ने चलन छ । तर मुस्लिमहरुले पनि दशैं मनाए, तिहारमा टिका लगाए भनिएका खबरहरु विगतमा पनि आउने गरेकै हो । त्यो क्रम यसवर्षको दशैंमा पनि जारी भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेख मेहबुव रेजाले यस पटक पनि दशैंमा टिका लगाउनुभएको छ । विगत निकै वर्ष अघि देखि दशैंमा टिका लगाउने मात्रै नभई स्थानीय स्तरमा आफ्नै खर्चमा दुर्गा पुजा लगाउँदै आउनुभएका वडा अध्यक्ष रेजाले यसपटक पनि दशैंमा टिका लगाउनुभएको हो ।
उहाँले हरिवन ११ स्थित शान्तादेवी हमालको हातबाट वडादशैंमा शुभसाईतकै टिका लगाउनुभएको एमाले नेता अनिल हमालले बताउनुभयो । अनिल हमालका अनुसार वडाअध्यक्ष रेजाले हरेक दशैंमा शान्तादेवीको हातबाट टिका तथा आशिर्वाद ग्रहण गर्ने गर्नुभएको छ । उहाँले तिहारमा पनि टिका लगाउने गर्नुभएको छ । उहाँले एमाले नेता विदुर प्याकुरेलको दिदीको हातबाट वर्षेनी तिहारमा टिका ग्रहण गर्दै आउनुभएको छ ।
नेपालमा मनाईने सबै धर्म र ती धर्म मान्ने मानिसहरु आफूलाई समान लाग्ने भएकोले आफूले सबै धर्म मान्ने गरेको वडा अध्यक्ष रेजाले बताउनुभयो । ‘मानिसहरु यो धर्म त्यो धर्म भन्छन्, तर मलाई सबै धर्म समान लाग्छ, किनकी सबै धर्मको सार एकै हो । शास्त्रमा होस्, या वाईवल या कुरान कही पनि अरु धर्मको सम्मान नगर्नु भनेको छैन ।’,वडाअध्यक्ष रेजाले भन्नुभयो । उहाँले आफू बाँचुन्जेल सबैधर्मको सम्मान गर्ने बताउनुभयो ।