भाइरल पोष्ट, हरिवन ।। निर्माणाधिन भवन निर्माणमा आर्थिक अभाव झेलेको समता स्कुल हरिवनका लागि आर्थिक सहयोग धमाधम जुट्न थालेको छ ।
एक सय रुपैयाँमै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको समता स्कुलको शाखा हरिवनको लागि निर्माणाधिन भवन निर्माणमा आर्थिक अभाव भएको र सहयोगका लागि स्कुल व्यवस्थापन समितिले अपील गरेपछि सहयोग जुट्ने क्रम सुरु भएको हो ।
यसैक्रममा हरिवन स्थायी घर भई राजस्व कार्यालय सिमराका कर अधिकृतको रुपमा कार्यरत राजकुमार खतिवडाले पनि आफ्नो जन्मदिनको अवसर पारेर सो स्कुललाई नगद १० हजार सहयोग प्रदान गर्नुभएको छ । नेपाली काँग्रेस हरिवनका उपसभापति डाकुरनाथ खतिवडाका सुपुत्र समेत रहनुभएका राजकुमारले पिता डाकुरनाथ र माता केशरकुमारी खतिवडासहित स्कुलमै पुगेर हरिवनका मेयर कमल बुढाथोकी, उपमेयर हरिमाया घलान, वडा नम्बर ११ का वडाअध्यक्ष शेख मेहबुब रेजा, पूर्व उपमेयर रेणुका पौडेल, स्कुलका शिक्षकशिक्षिका, बालबालिकाको सहभागितामा स्कुलमै जन्मदिन मनाउनुहुँदै स्कुललाई नगद सहयोग गर्नुभएको सो स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्कीले जानकारी दिनुभयो ।
जन्मदिनमा गरिने फजुल खर्चलाई जोगाएर सामाजिक काममा प्रयोग गर्न सके पूण्य मिल्ने भन्दै आफूले समता स्कुलको लागि जन्मदिनको अवसरमा सहयोग गरेको राजकुमार खतिवडाले बताउनुभयो । उहाँले स्कुलको भवन निर्माणमा आर्थिक अभाव भएको थाहा पाएपछि आफूले पनि थोरै सहयोग गर्नु कर्तव्य ठानेर सहयोग गरेको भन्दै उहाँले अरुलाई पनि सामाजिक कार्यमा एकजुट हुन आग्रह गर्नुभयो ।
समता स्कुललाई विभिन्न माध्यमबाट दाताहरुको सहयोग प्राप्त भईरहेको जानकारी दिनुहुँदै स्कुल व्यवस्थापन समितिका अध्यक्ष कार्कीले स्कुलमै आएर जन्मदिन मनाउँदै स्कुललाई आर्थिक सहयोग गर्ने राजकुमार खतिवडालाई धन्यवाद दिनुभयो । त्यस्तै उहाँले सोही अवसरमा स्कुलको भवन निर्माणका लागि पूर्व उपमेयर रेणुका पौडेलबाट ७ हजार, वडा नम्बर ९ का वडाअध्यक्ष कोकिलानन्द उप्रेतीबाट ७ हजार ५ सय, समाजसेवी हरिसचन्द्र रायमाझीबाट ५ हजार र गोपी सिग्देलबाट ५ हजार सहयोग प्राप्त भएको पनि जानकारी दिनुभयो ।
उहाँले स्कुलको निर्माणाधिन भवन निर्माणमा दाताहरुले केहीले निर्माण सामाग्री दिएर पनि सहयोग गरेको बताउनुभयो । उहाँले हजारौँ विद्यार्थीहरुलाई शिक्षित बनाउने यो महाअभियानमा आ–आफ्नो तर्फबाट सकेको सहयोग गरिदिनुहुन सबैसँग हार्दिक अनुरोध पनि गर्नुभयो ।
उहाँले समता स्कुललाई सहयोग गर्न चाहाने महानुभावहरुले कृषि विकास बैंक शाखा हरिवनमा रहेको समता एजुकेशन ट्रष्टको नाममा रहेको बैंक खाता नम्बर १०२७००५०७४३७६०१० मा समेत सहयोग रकम जम्मा गर्न सकिने जानकारी दिनुभयो ।