सोम दियाली, हरिवन ।। वडादशैंको अवसरमा हरिवन भेट्रान्स समूहले आयोजना गरेको हरिवन भेट्रान्स नक आउट फुटबल प्रतियोगिताको उपाधि हेटौडा पिप्ले क्लवले जितेको छ ।
स्वर्गिय सिकिलदेवीको सम्झनामा जिल्लामै पहिलो पटक ४० वर्ष माथिका खेलाडीहरुलाई लक्षित गरी आइतबार सम्पन्न प्रतियोगितामा हरिवन भेट्रान्स बि लाई पराजित गर्दै हेटौडा पिप्ले क्लवले उपाधि उचालेको हो । निर्धारित ५० मिनेटको खेलमा दुबै तर्फ एक एक गोल भएपछि खेलको नतिजा ट्राई ब्रेकरबाट निकालिएको थियो ।
प्रतियोगितामा प्रथम भएको पिप्ले क्लवले नगद ५० हजारसहित खसी उपहार पाएको छ भने उपविजेता भएको हरिवन भेट्रान्स समूह वि ले नगद २५ हजार र खसीमा चित्त बुझाएको छ ।
प्रतियोगितामा हरिवन, लालबन्दी, विरगंज, हेटौंडा, उदयपुर कटारीसहित १० ओटा टिमले सहभागिता जनाएका थिए ।
प्रतियोगिताका विजेता र उपविजेतालाई संविधानसभा सदस्य एवम् समाजसेवी नरेन्द्र साहको प्रमुख आतिथ्यतामा पुरस्कार प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख मेयर कमल बुढाथोकी, हरिवन ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत राजकुमार थापा, रेडियो सर्लाही तथा बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष टंक क्षेत्रीलगायतको आतिथ्यतामा पुरस्कार प्रदान गरिएको आयोजक एवम् हरिवन भेट्रान्स समूहका अध्यक्ष रन्जन सिन्दालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल खेल अघि पत्रकार टंक क्षेत्रीकै नेतृत्वमा रहेको उज्यालो अभियानमा आवद्ध पत्रकार र विभिन्न बैंकका कर्मचारीहरुबीच मैत्रीपूर्ण खेल भएको थियो ।
दशैं तिहारको शुभकामना आदान प्रदानसहित रमाईलोका लागि खेलिएको मैत्री खेलमा बैंकका कर्मचारीहरुको टीमले ५ गोलले स्तब्ध पारेको थियो भने पत्रकारको टिमले एक गोल पनि गर्न सकेनन् ।