भाइरल पोष्ट,जनकपुरधाम ।।
विजयादशमीको सातौं दिन जनकपुरधामसहित विभिन्न क्षेत्रका शक्तिपीठ र पण्डालहरूमा फूलपाती भित्र्याइएको छ ।
फूलपातीको विधिलाई यहाँ बेलतोरी विधिसमेत भनिन्छ । तराई–मधेशका शक्तिपीठ र दुर्गा मन्दिरहरूबाट बाजागाजा र झाँकीका साथ निक्लेको साधुसन्त र भक्तजनको समूह षष्ठीका दिन आमन्त्रण गरिएको बेल (फल)लाई विधिपूर्वक टिपेर आज मन्दिरमा प्रतिस्ठा गरि फूलपाती मनाईएको छ । बेलको रुखमा एउटै हाँगामा फलेको एक जोडी बेललाई कपडाले बाँधेर षष्ठीका दिन निमन्त्रणा दिने गरिन्छ । विधिपूर्वक त्यही बेल तोडेर डोलामा सजाएर भगवतीको रुप मानेर ल्याइन्छ र देवीको प्रतिमामा विराजमान गराएपछि फूलपाती सम्पन्न हुन्छ । सोहि विधिपछि पण्डालहरूमा बनाइएका माँ दुर्गा भवानी सहितको देवीदेवताका मूर्ति दर्शनका लागि आजैबाट खुल्ला गरिन्छ । प्रत्येक दिन नवदुर्गाको फरक फरक स्वरूपको आराधना गरिने परम्पराअनुरूप आश्विन शुक्ल सप्तमी तिथिमा देवी कालरात्रीको पूजा–आराधना गरिन्छ ।
नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दशैंमा शक्तिको पूजा आराधना गर्ने परम्परा छ ।