भाइरल पोष्ट, चन्द्रनगर ।। नेकपा माओवादी केन्द्र चन्द्रनगर गाउँकमिटीका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र मुखिया चन्द्रनगरवासीको भरोसाको केन्द्र बन्दै गएका छन् ।
गएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा पराजित भएका वरिष्ठ उपाध्यक्ष लोकन्द्र चुनाव हारेपनि चन्द्रनगरवासीको भरोसाको केन्द्र बनेका हुन् ।
नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा जितेका राजकुमार महतोसँग हारेका लोकेन्द्रले चुनाव हारेपनि जनताको समस्या समाधानमा अघि सरेर चन्द्रनगरवासीको मन जित्न थालेका छन् । उनले आफ्नै डोजर प्रयोग गरेर चन्द्रनगर ६ स्थित स्थानीय सोब्रा खोलामा बाँध निर्माण गरिदिएका छन् । सो खोलाको पानीले चन्द्रनगर ४ का हजारौं विगाह खेतमा सिँचाई हुने गरेको छ । तर खोलामा बाँध निर्माण नहुँदा किसानले खेतमा पानी लगाउन पाएका थिएनन् । बर्खा सकिसक्दा पनि पर्याप्त पानी परेको छैन । पानी नपर्दा जसोतसो धान रोपेका किसान धानखेतमा पानी लगाउन नपाउँदा वर्षभरी खाने धान नै फलाउन नसकिने अवस्थामा पुगेका थिए ।
धानखेतमा पानी लगाउन नपाएका किसान गाउँपालिका पुगेर गाउँपालिकाको डोजर उपलब्ध गराई बाँध निर्माण गरिदिन आग्रह गरे । तर गाउँपालिका र जनप्रनिधिहरुले डोजर उपलब्ध नगएरापछि निराश बनेका किसानलाई लोकेन्द्रले आफ्नै डोजर प्रयोग गरी बाँध बनाए दिए र किसानको खेतमा पानी पटाउने व्यवस्था मिलाई दिए ।
गाउँपालिकाले डोजर नदिएपछि लोकेन्द्रले आफ्नो डोजर ल्याएर बाँध निर्माण गरिदिएको चन्द्रनगर ४ का किसान विल्टु पासवानले बताए । बाँध बनेर सिँचाई गर्न पाएपछि अब भने धान फल्दैन कि भन्ने चिन्ता हराएको किसान पासवानले बताए ।
अर्का किसान इन्दल राउतले पनि लोकेन्द्रले आफुहरुको मुहारमा खुसी ल्याई दिएका बताए । ‘बाँध बनाउन हामीले गाउँपालिकासँग डोजर माग्यौं तर पाएनौं । पानी लगाउन नपाएर धान मर्ने चिन्ता लागिरहेको थियो लोकेन्द्र जी ले बाँध निर्माण गराईदिनुभयो । हामी अत्यन्तै खुशि छौं ।’, किसान राउतले भने ।
सोब्रा खोलाको पानीले चन्द्रनगर गाउँपालिकाका ४ नम्बर वडाकासहित ब्रह्मपुरी गाउँपालिकाका समेत खेतहरुमा सिँचाई हुने गरेको चन्द्रनगर ३ का किसान दयानन्द महतोले बताए । उनले सोब्रा खोलामा स्थायी बाँध निर्माण गर्न गाउँपालिकाले चासो देखाउनु पर्ने बताए ।
सोब्रा खोलामा बाँध मात्रै हैन लोकेन्द्र मुखियाले चुनावअघि या पछि पनि थुप्रै सामाजिक काम गरेको उनी निकटका नबल नेपालले बताए । उनले भने, ‘लोकेन्द्र जी काम गर्ने मान्छे हो । लोकेन्द्र जी लाई चन्द्रनगरका जनताले भोट त दिए तर जिताएनन् । चुनाव जितेको भए उनले अहिले भन्दा धेरै काम गरेर देखाउने थिए ।’ उनले अहिलेका गाउँपालिका अध्यक्ष राजकुमार महतोलेबाट चन्द्रनगरका जनताले आशा गर्ने ठाउँ नै नभएको बताए ।