भाईरल पोष्ट, महिनाथपुर ।। बहुजन एकता पार्टी नेपालले वडादशैं र आउँदै गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदानसहित सर्लाही क्षेत्र नम्बर ४ स्तरीय क्षेत्रीय भेला सम्पन्न गरेको छ ।
सो पार्टीका जिल्ला अध्यक्ष सुबोध हजारीको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनको प्रमुख आतिथ्यतामा जिल्लाको महिनाथपुरमा भेला सम्पन्न भएको हो ।
क्षेत्रीय भेलालाई संबोधन गर्नुहुदै प्रमुख अतिथी राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजनले दलित समुदायलाई बाबासाहब अंबेडकरको लडाकु बन्न अपिल गर्नुभयो । उहाँले गान्धीको हरिजन बनेर गुलामीको जिन्दगी त्याग गर्नुपर्ने सुझाब दिनुभयो ।
त्यस्तै सोही पार्टीका केन्द्रिय नेता पासवानले यसपटक सर्लाहीको क्षेत्र नं.४ का गरिव जनताले इतिहास रच्ने बताउनुभएको छ । सामन्त र शोषकको बिरुद्ध जनता जागृत भइसकेको बताउनुहुँदै नेता पासवानले यसपटक बहुजन एकता पार्टी नेपालको चुनाब चिन्ह ढल्केको सिँढीमा मोहर लगाउन कसैको लाठी र बन्दुकले छेक्न न सक्ने दावा गर्नुभयो ।
त्यस्तै सोही पार्टीका केन्द्रिय सदस्य जितेन्द्र रामले बहुजन समाजलाई फेरि हुकुमरान बनाउन सबै जोड तोडले संघर्षमा होमिने समय आएको उद्घोष गर्नुभएको थियो ।
कार्यक्रममा वडादशैं, आउँदै गरेको शुभदिपावली, नेपाल सम्वत, पवित्र पर्व छठ तथा मुस्लिम धर्मावलम्बीको मोहम्मद डे को शुभकामना समेत आदान प्रदान गरिएको सो पार्टीले भाईरल पोष्टलाई जानकारी दिएको छ ।