भाईरल पोष्ट, हरिवन ।। दशैं, तिहार तथा छठको शुभकामना आदानप्रदानसहित राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय भेला सर्लाहीको हरिवनमा सम्पन्न भएको छ ।
सो पार्टीको सर्लाही क्षेत्र नम्बर ३ का क्षेत्रीय अध्यक्ष ओम प्रसाद धमला(किशोर) को अध्यक्षता तथा केन्द्रीय सल्लाहकार समिति सदस्य चुडाबहादुर थापाको प्रमुख आतिथ्यतामा क्षेत्रीय भेला तथा दशैं,तिहार तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
भेलाका अवसरमा क्षेत्रीय अध्यक्ष धमलाले असोज ४ गते राष्ट्रिय अध्यक्ष हरिवन आउँदा भएको खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । त्यस्तै आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभा सदस्य निर्वाचनमा सो पार्टीबाट सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदका उमेदवार केपी शर्मा(कृष्ण प्रसाद शर्माल)ले पेट्रोल, रक्सी र मासुमा ईमान नबेच्न कार्यकर्तालाई आव्हान गर्नुभयो । उहाँले देशद्रोही, भ्रष्टाचारी, गुण्डागर्दी, तस्कर लगायतका फोहोरी तत्वबाट देश बचाउनका लागि आफूले उमेदवारी दिएको दाबी गर्नुभयो । उहाँले आफूहरु हिन्दुराज्य र राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मुद्धा लिएर चुनावमा होमिएको बताउनुभयो ।
भेलामा शर्मा विशिष्ट अतिथी हुनुहुन्थ्यो । त्यस्तै पूर्व केन्द्रीय सदस्य नारायण श्रेष्ठ, जिल्ला अध्यक्ष सत्यनारायण यादव, प्रदेश सदस्य दिपेन्द्र प्रसाद मैनाली, राजेश केसी, हरिवन नगर अध्यक्ष मोतीलाल श्रेष्ठ, महिला नेतृ गंगा रायमाझी लगायतको उपस्थिति रहेको थियो ।
चुनावै नजिते पनि गएको स्थानीय तह निर्वाचनमा हरिवन र क्षेत्र नम्बर ३ मा राप्रपाले राम्रो मत प्राप्त गरेको थियो । हरिवनमा राप्रपा बलियो बन्दै गएको छ । आगामी निर्वाचनलाई लिएर राप्रपाले बाक्लै कार्यक्रम गरिरहेको छ ।
असोज ४ गते पनि राष्ट्रिय अध्यक्ष राजेन्द्र लिंङ्गदेनलाई हरिवन ल्याएर आमसभा गरेको राप्रपाले आगामी चुनावमा सर्लाही क्षेत्र नम्बर तीनमा बाजी मार्ने दाबी गरेको छ ।