फलेन्द्र बलम्पाकी मगर, यूएई ।। कामदार भिसामा वैदेशिक रोजगारीमा जानका लागि भिसा बाहेक श्रम स्वीकृति, जीवन बिमा र स्वास्थ्य परिक्षण गरेको कागजात भएपछि मात्रै जान पाइने नेपाल सरकारको नियम छ । तर भिजिट भिसामा जानेहरुको हकमा भने यो नियम लागू हुदैन ।
वैदेशिक रोजगारीका लागि अधिकांश नेपालीहरु काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मात्रै होइन छिमेकी मुलुक भारतको मुम्बई र दिल्ली विमानस्थलबाट पनि खाडीमुलुक दुबै, कतार, मलेसियालगायत अन्य देशहरूमा रोजगारीका लागि ट्रान्जिट बनाएर पनि जाने गरेको पाइन्छ ।
वैदेशिक रोजगारी र भ्रमणको लागि भारतीय विमानस्थलबाट ट्रान्जिट गरेर खाडि मुलुकहरु र मलेसिया जानलाई ट्रान्जिट गरेर जाने नेपालीहरूलाई भने नेपाल एम्बेसी दिल्लीले सम्पुर्ण कागजात भएपनी अंकुस लगाउने गरेको पाइएको छ ।
नाम नबताउने एक पीडित नेपाली यात्रुका अनुसार एम्प्लोयमेन्ट भिसा, श्रम स्वीकृति, हवाई टिकट र भ्याक्सिन लगाएको कागजात हुँदाहँुदै पनि एक हजार रुपैयाँ बुझाएर एनओसी दिल्ली राजदूतावासबाट नलिएसम्म यात्रा गर्नलाई रोक लगाइएको जसले गर्दा उनले फ्लाइट मिस गर्नाले दिल्ली एअरपोर्टमा धेरै सास्ती भोग्नुपरेको कुरा बताए ।
पीडित यात्रुका अनुसार बाह्र वर्षदेखि दिल्ली एअरपोर्टबाटै युएई आउने जाने गरेको र नेपाल एम्बेसी दिल्लीको कुनै पनि किसिमको पत्र नचाहिएको तर यसपटक भने दिल्ली एअरपोर्टमा इमिग्रेसनका कर्मचारीले नो अब्जेक्सन सर्टिफिकेट, एनओसी नभएसम्म यात्रा गर्न नपाइने नेपाल एम्बेस्सी दिल्ली कै आदेश भएकोले रोक्नु परेको बताए ।
एअरपोर्ट कै कर्मचारीले दिल्ली दूतावासमा टेलीफोन गरि यात्रुसँग यात्रा गर्नका लागी सम्पुर्ण विवरण रहेको यात्रुको सम्पुर्ण विवरण दूतावासको आधिकारिक व्हाटस एप र इमेल मार्फत दूतावासमा पठाइएको जानकारी गराउँदा समेत कुनै पनि प्रतिक्रिया नदिएको र पटकपटक टेलीफोन सम्पर्क गर्दा पनि टेलीफोन समेत उठाउन छोडेका कारण फ्लाइट मिस भएर एअरपोर्ट मै अलपत्र परेर बस्नु परेको पीडितको भनाई छ ।
दिल्ली एअरपोर्टका कर्मचारीलाई उदृत गर्दै पीडितले,‘यदि हामीलाई फोन मार्फत नै नेपाली दूतावासका कर्मचारीले जान दिनुस भनेको भए हामी जान दिने थियौ तर नेपाली राजदुतावासको अनुमति नभएकाले हामी जान दिन असमर्थ छौ ।’ भनेर रोकेको बताए । रातभर त्यहीँ एअरपोर्टमा बसेर बिहानै जब नेपाली दूतावास दिल्ली पुगेर आफ्ना सबै डकुमेन्ट देखाए । न त श्रम गरेको पेपर चाहियो नत भ्याक्सिन लगाएको पेपर चाहियो । चाहियो त केबल एक हजार रुपैयाँ मात्र । सबै डकुमेन्ट हुँदाहुँदै एक हजार रुपैयाँको लागि तपाईंहरूले रोक्नु भयो । मलाई एक हजार रुपैयाँँ शुल्क लाग्छ एनओसीको भनेको भए म एअरपोर्ट मै बुझाउथे । यहीँ एक हजार रुपैयाँको कारण मेरो फ्लाइट छुट्यो भनेर प्रश्न गर्दा कुरा बुझ्नु न भनेर मात्रै जवाफ दिए । दूतावास कर्मचारीको यस्तो खाले गैरजिम्मेवारी पुर्ण व्यवहारले गर्दा एक नेपाली नागरिकको नोकरी नै जान सक्ने खालको खेलवाड गरेका छन् ।
प्रवासमा रहेका लाखौं नेपालीहरूलाई सहजीकरण लागि स्थापना गरिएका विदेशी नेपाली नियोगको राजदुतावासले यस्तो खाले व्यवहार गरेर दुःख दिनु न्याय संगत हो त ? भन्ने प्रश्न उठेको छ । दुबईमा रहेको कम्पनीलाई जानकारी गराउदा काम गर्ने भए आफैले टिकट काटेर आइजा हामी अर्को टिकट पठाउन सक्दैनौं भन्ने जवाफ दिएपछि पीडित ले पुनः नेपालबाट पैसा मगाएर अर्को टिकट आफैले काटेर चार दिनपछी दुबई आएको जानकारी दिए । दूतावासमा सम्पर्क गरेर सोध्दा तृतीय सचीव धनिक राम महतोले व्हाट्स एप र इमेल मार्फत पनि एनओसी पाइने जानकारी दिए तर व्यवहारमा त्यस्तो देखिएन । एक हजार रुपैयाँँ दूतावासमा नबुझाउनाले गर्दा यात्रुले चारदिनसम्म दुःख मात्रै होइन २७ हजारको आफ्नै पैसाले पुनः अर्को टिकट काटेर दुबई जानु परेको दुखेसो पोखे ।
अर्थतन्त्रको मेरुदण्ड नै वैदेशिक रोजगार भएको देशमा प्रवासमा रहेका नेपाली राजदूतावासको यस्तो खाले अकर्मण्यताले प्रवासमा रहेका लाखौं नेपालीहरू निराश नहोलान भन्न सकिन्न ।