भाइरल पोष्ट,हरिवन ।।
सर्लाहीको हरिवनमा बडा दशैंसहित आउँदै गरेको शुभ दिपावली, नेपाल सम्बत, छठ तथा मोहम्मद डेको समेतको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
हरिवन नगरपालिका ११ का वडाअध्यक्ष शेख मेहबुब रेजाको अध्यक्षता तथा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलानको प्रमुख आतिथ्यतामा हरिवन बजार स्थित कार्की पुस्तक पसल अगाडि भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई हरिवन नगरपालिकाको व्यवस्थापनमा हरिवन बजार व्यवस्थापन समिति हरिवन ११ ले आयोजना गरेको हो ।
चाडपर्वलाई हर्षोल्लासमय बनाउन हरेक वर्ष दशैं तिहार तथा अन्य पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रमहरु गर्दै आएको समितिले यस वर्ष कोरोना पछिकै भव्य शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । सो अवसरमा बोल्नुहुँदै वक्ताहरुले दशैं तिहार लगायतका चाडवाडले नेपालीपन र यहाँका कला संस्कृति रितिरीवाज जोगाउन मदत गरेको मात्रै नभई नेपाली नेपालीमा पनि आत्मीयता, प्रेम र सदभाव बढाएको बताउनुभयो । कार्यक्रममा एमाले हरिवन नगर अध्यक्ष सीताराम पोखरेल, नेता चुडामणि वाग्ले लगायतको आतिथ्यता रहेको थियो ।
सो अवसरमा हरिवन बजारमा दशैंमा किनमेल गर्न आउने तीन दर्जन भन्दा बढी व्यक्तिहरुलाई खादा ओढाएर सम्मान गरिएको छ । हरिवन बजार सिन्धुलीको क्यानेश्वर लगायतका स्थानका उपभोक्ताहरुको प्रमुख बजार हो । विभिन्न स्थानबाट किनमेलका लागि आउने ग्राहकहरुकै कारण हरिवन बजार चलेको भन्दै उनीहरुलाई प्रमुख अतिथी उपमेयर घलान, वडा अध्यक्ष रेजा लगायतका महानुभावले उहाँहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको स्थानीय राकेश चौधरीले जानकारी दिनुभयो ।