भाईरल पोष्ट, हरिवन ।। घटस्थापनाको अवसर पारेर सर्लाहीको हरिवन ३ स्थित मोहनपुरमा विभिन्न जातका फलफुलको विरुवा रोपिएको छ ।
वन, वातावरण तथा पर्यावरण संरक्षणसहित विपन्न नागरीकको आयआर्जनमा टेवा पु¥याउने उदेश्यले यूएनडिपी, ग्रामीण स्वयम सेवक समाज र हरिवन नगरपालिकाले संयुक्त रुपमा सञ्चालन गरेको कृषि वन परियोजना अन्तर्गतका जमिनमा आँप, लिच्ची, कागती लगायतका विभिन्न जातका फलफुलका विरुवा रोपिएको हो ।
कृषि वन समूहका सदस्यहरु, यूएनडिपी र ग्रामीण स्वयम सेवक समाजका पदाधिकारीहरुको उपस्थितिमा हरिवन नगरपालिकाकका मेयर रमेश बुढाथोकी(कमल), उपमेयर हरिमाया घलान र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले त्यहाँ वृक्षारोपण गरेर वृक्षारोपण कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।
लखनदेही नदी किनारमा पर्ने सो क्षेत्रमा नदी उकास तथा खेर गईरहेको झण्डै ४ विगाह क्षेत्रफल जमिनमा कृषि वन परियोजना अन्तर्गत समूह निर्माण गरी तरकारी खेति गरिएको छ । गरीब, विपन्न तथा भूमिहीनहरुलाई २/२ कट्ठाका दरले जमिन दिई तरकारी खेती गर्न लगाइएको छ । नगरपालिका, यूएनडिपी र ग्रामीण स्वयम सेवक समाजले उनीहरुलाई विउ, विजन, मलखाद, सिचाईसहित प्राविधिक सहयोग समेत गरिरहेको छ ।
वृक्षारोपण पछि हरिवन नगरपालिकाका मेयर बुढाथोकीले विपन्न नागरीकको आयआर्यजनमा टेवा पु¥याउने र जलवायू परिवर्तनको असर कम गराउने उदेश्यले नै नगरपालिकाले त्यहाँ कृषि वन परियोजना सञ्चालन गरेको बताउनुभयो । उहाँले परियोजना अत्यन्तै प्रभावकारी भएकोले नगरका अन्य स्थानमा समेत परियोजना विस्तार गरिने बताउनुभयो । उहाँले सो क्षेत्रमा किसानहरुलाई भैसी पालनका लागि समेत आफूले प्रोत्साहन गर्ने योजना बनाएको बताउनुभयो ।
त्यस्तै उपप्रमुख हरिमाया घलानले पनि नगरपालिकाले सञ्चालन गरेको कृषि वन परियोजना सफलतातर्फ उन्मूख भएकोले थप कार्यक्रमहरु विस्तार गर्ने आफूहरुले सोच बनाएको बताउनुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले कृषि वन परियोजनाले खेर गईरहेका जमिनहरुको सदुपयोग हुनुका साथै विपन्न नागरीकको आयआर्जनमा समेत राम्रै टेवा पुगेको बताउनुभयो ।
त्यस्तै ग्रामीण स्वयम सेवक समाजका अध्यक्ष दधिराम पौडेलले सुरुमा परियोजना टिकाउन गाह्रो भएको भएपनि अहिले परियोजनाले मूर्त रुप लिएको बताउनुभयो ।
त्यस्तै परियोजनाका कृषि प्राविधिक सुरज खनालले परियोजनाकै कारण अहिले किसानहरुको आर्थिक अवस्था नै फेरिएको बताउनुभयो ।