सोम दियाली, लालबन्दी ।। चाडपर्वलाई लक्षित गर्दै जिल्लाको लालबन्दी र बयलवास बजारको अनुगमन गरिएको छ । अनुगमनका क्रममा यहाँका पसलहरुमा व्यापक रुपमा अखाद्य तथा म्याद गुज्रेसका सामानहरु फेला परेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवा, उद्योग वाणिज्य संघ र नेपाली उपभोक्ता संरक्षण महासंघको टोलीले संयुक्त रुपमा जिल्लाको लालबन्दी र बयलवास बजारको अनुगमन गरेको हो ।
अनुगमन टोलीले भारी मात्रामा चाउचाउ, विस्कुट, कुरकुरे लगायतका सामानहरु जफत गरेको छ । त्यस्तै टोलीले नेपालमा विक्रि वितरणमा प्रतिवन्ध गरिएको भारतीय डिउ समेत जफत गरेको छ । यहाँसम्म कि अनुगमन टोली पुगेपछि बलयवास बजारमा त व्यापारीहरुको भागभाग समेत भएको थियो । टोलीले प्रहरीको सहयोगमा बलयवास बजारका पसलहरु खोल्न लगाई अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा यहाँका व्यापारीहरुले उपभोक्ताको हित विपरीतका अखाद्य तथा म्याद गुज्रेका सामानहरु फेला परेकोले ती समानहरु जफत गरिएको अनुगमन टोली संयोजक सहायक प्रजिअ अधिकारीले बताउनुभयो ।
‘हामीले चाडपर्वलाई लक्षित गरी लालबन्दी र बयलवास बजारका विभिन्न पसलहरुमा अनुगमन ग¥यौं । विशेष गरी खाद्यन्न, पेय पदार्थ, लत्ताकपडा र केही औषधी पसलहरुको समेत अनुगमन ग¥यौं ।’, सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले भन्नुभयो,‘अनुगमनका क्रममा व्यापारीहरुले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर गर्ने अखाद्य र म्याद गुजे्रेका सामानहरु खुलेआम विक्री गरिरहेको फेला परेको छ ।’
उहाँले कतिपय अवस्थामा ईजाजत नलिईकन सञ्चालन भएका पसलहरु र डिलर वा व्यापारीबाट सामान किनेको बिल नराखेको पसल समेत फेला परेको बताउनुभयो । उहाँले विशेष गरी फुलजोरमा रहेका छाप्रा पसलहरुले त्यस्ता म्याद गुज्रेका चाउचाउ, विस्कुट, कुरकुरे र प्रतिवन्धित भारतीय डिउ बेच्न राखेको पाइएकोले ती सबै सामान जफल गरिएको बताउनुभयो ।
‘हामीले पहिलो पटक अनुगमन गरेकोले त्यस्ता म्याद गुज्रेका, अवैध र उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने खाद्यवस्तु भेटेपछि ती सबै जफत गरेका छौं । उहाँहरुलाई एक पटकलाई सम्झाउँदै अबदेखि त्यस्ता सामान नबेच्न र ती सामानहरुको बिलहरु राख्न, पसलमा मूल्यसूचि समेत राख्न निर्देशन दिएका छौं ।’ सहायक प्रजिअ अधिकारीले भन्नुभयो, ‘अनुगमनका क्रममा हामीले केही खाद्य वस्तुको नमूना पनि लिएका छौं । भारतबाट आएकासहित विभिन्न कम्पनीले उत्पादन गरेका त्यस्ता उपभोग्य वस्तु खान योग्य या अयोग्य भनेर ल्याव जाँच गर्न जनकपुर पठाउँछौं र खान अयोग्य भए त्यस्ता वस्तुको विक्री वितरणमा रोक लगाउछौं र त्यस्ता वस्तु उत्पादन गर्ने उत्पादकहरुलाई नै कार्वाही गर्छौं ।’
उहाँले खुल्ला सिमाको फाईदा उठाउँदै व्यापारीहरुले राजमार्गसहित जिल्लाका मुख्य बजारहरुमा त्यस्ता नेपालमा प्रतिबन्ध गरिएको भारतीय डिउ, अन्य अवैध सामान, म्याद गुज्रेका र उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालका सामानहरु छ्यापछ्याप्ती पारेको बताउनुहुँदै त्यस्ता खाद्य वस्तुको आयातमा कडाई गर्नुपर्ने बताउनुभयो ।
उहाँले उपभोक्ताहरुले समेत दैनिक उपभोग्य सामान किन्दा सामानको म्याद सकिए नसकिएको हेरेर किन्नु पर्ने र त्यस्ता सामान किन्दा सचेत हुनुपर्ने बताउनुभयो ।
त्यस्तै नेपाली उपभोक्ता महासंघ मधेश प्रदेश संयोजक प्रमोद थपलियाले जिल्लाका मुख्य बजारहरुमा अखाद्य, अवैध र म्याद गुज्रेका उपभोग्य सामान भेटिनु दुःखद भएको बताउनुभयो । उहाँले नेपाल उपभोक्ता संरक्षण महासंघ उपभोक्ताकै हितमा सबैमा काम गर्ने संस्था भएकोले त्यस्ता अवैध र अखाद्य वस्तुको उपभोक्तसँगै मिलेर नियन्त्रण गर्ने बताउनुभयो । उहाँले केही दिन अघि पनि हरिवनमा आफूहरुकै पहलमा प्रतिवन्धित भारतीय डिउ लगायतका खाद्य सामाग्री नियन्त्रणमा लिएको भन्दै जिल्लाका बजारहरुलाई अखाद्य र अवैध उपभोग्य सामान मुक्त गराउने अभियानमा आफूहरु लागेको बताउनुभयो ।
अनुगमनमा नेपाली उपभोक्ता संरक्षण महासंघ सर्लाहीका अध्यक्ष प्रेम बहादुर खड्का, महासंघ कै मधेश प्रदेश संयोजक प्रमोद थपलिया, उद्योग वाणिज्य संघका पदाधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, प्रहरी लगायतको सहभागिता रहेको थियो ।