भाइरल पोष्ट, मलंगवा ।। ‘घुमौ मधेश, बुझौ प्रदेश’ भन्ने नाराका सर्लाहीमा पनि पर्यटन वर्ष २०२२ मनाउन सुरु गरिएको छ ।
असोज ९ (आज), १० र ११ गरी तीन दिन मनाउन लागिएको पर्यटन दिवसको पहिलो दिन आज नेपाल–भारत सिमा अन्तर्गत पर्ने सदरमुकाम मलंगवा स्थित दशगजा क्षेत्रको सरसफाइ गरेको छ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले जिसस प्रमुख कौशल किशोर सिंहको अगुवाइमा भारतीय पर्यटकहरुको स्वागतका लागि नेपाल–भारत सिमा छुट्याउने जंगे पिलरदेखि जिल्ला भन्सार कार्यालयसम्मको सडकको सरसफाइ गरी पर्यटन दिवस मनाउन सुरु गरेका हुन् ।
गएको २ वर्ष अगाडी भिजिट नेपाल २०२० मनाउन भनि ठुलो लगानी गरेर तयारी अवस्थामा रहेका यहाँका होटल तथा पर्यटन व्यवसायीहरुलाई कोरोना भाइरसको संक्रमण तथा लकडाउनका कारण तय गरिएका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्नुपरेको थियो । जसले गर्दा उनीहरूलाई ठुलो आर्थिक मार सहनुपरेको थियो ।
तर यसवर्ष पहिलाको जस्तो अवस्था नरहेकोले मधेश प्रदेश अन्तर्गतआठ वटै जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरुले “घुमौ मधेश, बुझौ प्रदेश “भन्ने नारा दिएर पर्यटन वर्ष २०२२ मनाउन लागेको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ मधेश प्रदेशका कोषाध्यक्ष बैकुण्ठ सापकोटाले जानकारी दिनुभयो ।
दशगजाको सरसफाई पश्चात संघले मलंगवामा पत्रकार सम्मेलन गरेर तीन दिने कार्यक्रमबारे जानकारी दिएको छ । जसअनुसार असोज ११ गते बिहान मलंगवा नगर क्षेत्रमा प्रभात फेरी गरि नेपाल पर्यटन वर्ष २०२२ को लोगो सहितको बेलुन उडाउने र मलंगवा स्थित भन्सार कार्यालय भएर नेपाल प्रवेश गर्ने भारतीय पर्यटकहरुलाई खाँदा र टीका लगाएर स्वागत गरिनेछ ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका अध्यक्ष हिराकाजी योन्जनले दिवसका अवसरमा मधेस प्रदेशका सर्लाहीसहित आठ वटै जिल्लाको भ्रमण गर्न आउने पर्यटकलाई यहाँका होटलहरुमा खानामा १५ प्रतिशत र आवासमा २५ प्रतिशत छुटको गरेको बताउनुभयो ।
विगतका वर्षहरुमा व्यवसायीले घाटा व्यहोर्नु परेको भएपनि यस वर्ष भने होटल व्यवसायीलाई यो दिवसले राहत मिल्ने जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंहले विश्वास व्यक्त गर्नुभएको छ ।