सोम दियाली, हरिवन ।। हरिवनस्थित जननी शैलेश फाउण्डेशनले महादेव जनता नमूनमा माविको कक्षा ११ र १२ मा अध्ययनरत दुई/दुई जना विद्यार्थीलाई पूर्णछात्रवृति प्रदान गरेको छ ।
हरेक वर्ष ४ जना विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पूर्णछात्रवृति प्रदान गर्ने उदेश्यका साथ फाउण्डेशनले पहिलो पटक सो माविका कक्षा ११ की अम्बिका कुमारी खत्री र निका मल्ल आले तथा कक्षा १२ की ज्योती विक र मन्दिरा थापालाई पूर्णछात्रवृति प्रदान गरेको हो ।पूर्णछात्रवृति अन्तर्गत उहाँहरुले विद्यालयलाई तिर्नुपर्ने सबै प्रकारका शुल्क देखि विद्यालय पोशाक, झोला, किताव, कापी सबै फाउण्डेशनले नै तिरीदिनेछ । 
उहाँहरुलाई विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहको अध्यक्षतामा एक कार्यक्रम गरी प्रमुख अतिथी वडा नम्बर ८ का वडाअध्यक्ष प्रज्वल ढुंगाना, विशिष्ट अतिथी समाजसेवी रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्की लगायतले छावृति प्रदान गर्नुभएको छ । सोही अवसरमा फाउण्डेशनले महादेव जनता माविलाई समेत सम्मान पत्र प्रदान गरेको छ । हरिवनको शिक्षामा मज मावि निकै अगाडि देखिएको भन्दै सम्मान स्वरुप सम्मानपत्र प्रदान गरिएको फाउण्डेशनले जनाएको छ ।
विद्यालयले सिफारिस गरेको आधारमा छनौट गरी उहाँहरुलाई पूर्णछात्रवृति प्रदान गरिएको फाउण्डेशनका प्रतिनिधि युवराज भण्डारीले बताउनुभयो । ‘विगतमा पनि थुप्रै सामाजिक काम गर्नुभएका हरिवनकै स्थानीय शैलेश मैनालीले सामाजिक कामका लागि भनेर नै जननी शैलेश फाउण्डेशन स्थपना गर्नुभएको हो । विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्न भनेर नै फाउण्डेशनले यस वर्षबाट छात्रवृति प्रदान गर्न सुरु गरेको हो ।’, फाउण्डेशनका प्रतिनिधि भण्डारीले भन्नुभयो ।
छात्रवृति वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथी वडा अध्यक्ष ढुंगानाले शिक्षा नै अहिलेको देश विकासको मेरुदण्ड भएकोले शिक्षाको विकासमा सबैले चासो राख्नु र सहयोग गर्नु राम्रो कुरो भएको बताउनुभयो । उहाँले जननी शैलेश फाउण्डेशनले विगतमा पनि थुप्रै सामाजिक काम गरेको आफूले थहा पाएको भन्दै मज माविमा अध्ययनरत छात्राहरुलाई छात्रवृति प्रदान गरेकोमा फाउण्डेशनलाई धन्यवाद दिनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथी समाजसेवी रेडियो सर्लाहीका अध्यक्ष भरत कुमार कार्कीले जननी शैलेश फाउण्डेशनले हरिवनको शिक्षामा गरेको लगानी महत्वपूर्ण रहेको बताउनुभयो । ‘शैलेश मैनाली हरिवनकै स्थानीय हुन् । उनी संविधानसभा सदस्य केशव मैनालीका छोरा हुन् । मज मावि जहाँ छ यो जमिन पनि शैलेशकै हजुरवुवाले दिनुभएको जमिन हो । हरिवनको शिक्षामा शैलेश मैनाली परिवारको योगदानलाई हरिवनवासीले विर्सनुहुँदैन ।’ समाजसेवी कार्कीले भन्नुभयो । उहाँले फाउण्डेशनले आगामी दिनमा पनि शिक्षा लगायतका क्षेत्रमा यस्तै खालका कार्यक्रमहरु गर्दै जाने विश्वास व्यक्त गर्नुहुँदै दशै, तिहार,छठ लगायतका पर्वहरुको शुभकामना दिनुभयो ।
कार्यक्रममा समता स्कुल व्यवस्थापन समितिका अध्यक्ष सुकदेव कार्की, नारायण कार्की, फाउण्डेशनका प्रतिनिधि युवराज भण्डारी, धनराज बुढाथोकी, पूर्व विद्यार्थी समाजका विप्लप कार्की, जोत नारायण रौनियार, विद्यालयका शिक्षकशिक्षिका, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
सोही अवसरमा सो विद्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।