भाईरल पोष्ट, बयलवास ।। चुनाव जितेर गएपछि एक पल्ट पनि गाउँ नफर्किने गरेको गुनासो सबैतिर छ । सर्लाही क्षेत्र नम्बर १ बाट चुनाव जित्नुभएका निवर्तमान सांसद प्रमोद साह पनि आफ्नो क्षेत्रमा खासै देखा नपर्ने गरेको यहाँका जनताको गुनासो छ ।
आगामी मंसीर ४ गते चुनाव हुनेभएपछि निवर्तमान सांसद साह पुनः संघीय संसदमा यही क्षेत्रबाट चुनाव लड्दै हुनुहुन्छ । यो क्षेत्र गठबन्धनको भागमा पर्दा सांसद साहले नै यस क्षेत्रमा टिकट पाउने प्रवल सम्भावना छ । टिकट पाउने छाटकाँट देखेपछि निवर्तमान सांसद साह आफ्नो क्षेत्रका जनता फकाउन लाग्नुभएको छ ।
उहाँले पछिल्लो समय आफ्नो क्षेत्रमा सडक कालोपत्रे गर्ने कामको शिलान्यास गर्न थाल्नुभएको छ । केही दिन अघि पनि चन्द्रनगर गाउँपालिकाको वडा २ स्थित विर्ता बजार र बबरगंज जोड्ने सडक शिलान्यास गर्नुभएका निवर्तमान सांसद साहले अहिले फेरी ईश्वरपुर नगरपालिका वडा नं. १० खैरा बजार देखि बिरता बजार हुदै मोहनपुर सम्मको ५ किलोमिटर सडक कालोपत्रे गर्ने कामको शिलान्यास गर्नुभएको छ ।
२० करोड ६१ लाख ७८ हजार ३ सय २८ रुपैया ९० पैसा रकम लगत अनुमान गरिए पनि धुलिखेल एक्सिस एशियन जे.भी., बानेश्वर–१० काठमाडौंले १२ करोड, ८७ लाख ५२ हजार ८ सय ३७ रुपैयाँ ३२ पैसाको लागतमा सम्झौता गरी खैरा देखि मोहनपुर सम्मको सडक कालोपत्रे गर्ने भएको छ ।
संघीय सांसद साहले शुक्रवार उक्त सडक शिलान्यास गरेपछी काम पनि शुक्रबारबाटै सुरु गरिएको स्थानिय समाजसेवी नाथुराम चौधरीले जानकारी दिनुभयो । ठेक्केदार कम्पनीले असार ३१ गते सम्झौता गरी २०८१ असार २९ मा काम सम्पन्न गर्नुपर्ने भए पनि ठेक्केदार कम्पनीले एक वर्षमै उक्त सडक कालोपत्रे गर्ने सांसद साहको निजी सचिवालयले जनाएको छ ।
सडक कालोपत्रे गर्ने क्रममा सडक ढलान, नाला ढलान, ग्याबिन वाल,बक्स कल्भर्ट र ह्युम पाइप समेत ठाउँ ठाउँमा राखि कालो पत्रे गरिने छ ।