भाईरल पोष्ट, लालबन्दी ।। विश्व पर्यटक दिवसका अवसरमा सर्लाहीका होटलहरुले पर्यटकहरुलाई वास र खानामा विशेष छुट दिने भएका छन् ।
नेपाल होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीले विहिबार लालबन्दीमा पत्रकार सम्मेलनको आयोजना गर्दै असोज ९, १० र ११ गते यहाँ आउने पर्यटकहरुलाई वासमा २५ र खानामा १५ प्रतिशत छुट दिने जानकारी गराएको छ ।
साथै यस वर्षको पर्यटन दिवस २०२२ विशेष रुपले मनाउने पनि उसले पत्रकार सम्मलेनका क्रममा जानकारी गराएको छ । दिवसका अवसरमा असोज ९ गते सरसफाई कार्यक्रम गरिने, सदरमुकाम मलंगवास्थित नेपाल–भारत सीमामा अन्य सरोकारवालासहित पुगेर भारतबाट आउने पर्यटकलाई स्वागत तथा सम्मान गर्ने, जिल्लाका पर्यटकीय स्थलहरुबारे जानकारीमूलक होर्डिङ बोर्ड राख्ने उनीहरुले जानकारी दिएका छन् ।
लालबन्दी स्थित भण्डारी होटलमा भएको पत्रकार सम्मेलनमा संघका सर्लाही अध्यक्ष हिराकाजी योन्जनले पर्यटन वर्ष २०२२ सफल पार्न सबैलाई आव्हान समेत गर्नुभएको छ । उहाँले आफूहरुले मधेश सरकार पर्यटन वोर्डको निर्देशन अनुसार नै पर्यटन दिवसलाई भव्यरुपमा मनाउन लागेकोले आफूहरुको कार्यक्रममा सहभागि हुन र सफल बनाउन उहाँले पत्रकार, व्यापारी, वुद्धिजीवी सबैलाई आव्हान गर्नुभएको हो ।
पत्रकार सम्मेलनमा संघका प्रथम उपाध्यक्ष विनोद मैनाली, द्वितिय उपाध्यक्ष नहकुल भण्डारी, तृतीय उपाध्यक्ष पूर्ण प्रसाद चौलागाईं, महासचिव राजेश कुमार शर्मा, कोषाध्यक्ष मनोज कुमार दास, सचिव मनोज साह, सदस्य गीता माझी तथा प्रदेश समिति सदस्य फेकु श्रेष्ठलगायत जिल्लाका विभिन्न क्षेत्रका होटल व्यवसायीहरुको उपस्थिति रहेको थियो ।