भाईरल पोष्ट, हरिवन ।। हरिवन नगरपालिकाका मेयर रमेश कुमार बुढाथोकी(कमल)ले वडा नम्बर ९ स्थित उत्पन्नेश्वर महादेब मन्दिर परिसरको सरसफाई गरी श्रमदान गर्नुभएको छ ।
काम विशेषले नगरवाहिर रहेको अवस्थामा बाहेक हरेक शनिवार सार्वजनिक स्थानमा श्रमदान गर्ने अभियान सुरु गर्नुभएका मेयर बुढाथोकीले अभियानको दशौं श्रमदान अन्तर्गत शनिवार वडा नम्बर ९ को दनुवारीमा रहेको उत्पन्नेश्वर महादेव मन्दिर परिसरको सरसफाई गरी जनश्रमदान अभियानलाई निरन्तरता दिनुभएको हो ।
मेयर बुढाथोकीले गएको ९ हप्तादेखि निरन्तर रुपमा सार्वजनिक स्थानमा श्रमदान गरिरहनुभएको छ । सार्वजनिक स्थानमा गरिने श्रमदान तथा सरसफाईले नगरको सुन्दरता वृद्धि हुने भएकोले आफै श्रमदानमा जुट्नुभएका मेयर बुढाथोकीले सुरु गर्नुभएको अभियान सफल र थप लोकप्रिय बन्दै गएको छ ।
अभियान अन्तर्गत उहाँले सार्वजनिक सडक, अस्पताल, गुम्बा, मन्दिर, धार्मिक तथापर्यटकीय स्थल, खेलमैदानको सरसफाई गरी श्रमदान गरिरहनुभएको छ । साथै उहाँले सार्वजनिक स्थानहरुको सुन्दरता र वातावरण सन्तुलनमा थप टेवा पु¥याउने उदेश्यले सार्वजनिक स्थल तथा मन्दिर परिसरमा वृक्षारोपण समेत गरिरहनुभएको छ ।
मेयर आफै यसरी सार्वजनिक स्थानको सरसफाईमा जुट्नुभएपछि नगरवासीहरु समेत उत्साहका साथ मेयरसँगै श्रमदानमा जुटिरहेका छन् । नगरलाई सफा सुग्घर, सुन्दर र हरियाली बनाउन मेयर बुढाथोकीले सुरु गर्नुभएको अभियान प्रभावकारी हुने भन्दै आफूहरु पनि मेयरसँगसँगै निःशुल्क श्रमदान अभियानमा सरिक भएको हरिवनवासीले बताएका छन् ।
गएको स्थानीय तह निर्वाचनबाट मेयरमा निर्वाचित हुनुभएका मेयर बुढाथोकीले निर्वाचित भएदेखि नै लोकप्रिय र जनपक्षीय कामहरु गरिरहनुभएको नगरवासीले बताएका छन् । मेयर बुढाथोकी आफैले पनि आफू जनताको मेयर भएकोले जनताकै पक्षमा काम गरिरहेको बताउनुभयो ।