सोम दियाली, बयलवास ।। साने दमाईले आफ्नो उपचारमा मेयरले पैसा तिरिदेलान् भन्ने सोच्नुभएकै थिएन । बरु उहाँलाई उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता थियो । एक पटक त पैसा छैन यतिकै बस्छु भन्ने पनि उहाँलाई लागेको थियो ।
विहान साँझ एक छाक खान समेत धौ धौ थियो साने दमाईलाई । एक दिन उहाँ घरमै चिप्लिएर लड्नुभयो र उहाँको खुट्टा नै भाँचियो । उहाँलाई बर्दिवास स्थित जनसेवा हस्पिटल भर्ना गरियो । डाक्टरका अनुसार उहाँको खुट्टाको अप्रेसन गर्नुपर्ने भयो । तर साने दमाईसँग पैसा थिएन । अप्रेसन गर्न धेरै पैसा लाग्नेभएपछि उनका छोरा चेत बहादुर दमाईलाई पैसा जोहो गर्न समस्या भयो ।
यतिकैमा मेयरले यो कुरा थाहा पाउनुभयो । चेत बहादुर दमाई भन्नुहुन्छ मेयर सापले यो कुरा थाहा पाउनुभएपछि उहाँ आफै अस्पताल आएर पिर नगर्नु उपचारमा लाग्ने खर्च म दिन्छु भन्नुभयो । हामी ढुक्क भयौं । उहाँले उपचारमा लागेको सबै साँढे तीन लाख तिरिदिनुभयो ।
मेयर अचार्यको सामाजिक कार्य यो नै पहिलो होईन । उहाँले विगत केही वर्ष यता नै जिल्लावासी दिनदुखिहरुलाई यसरी नै सहयोग गर्दै आउनुभएको छ । दिनदुखिको सेवा गर्न पाउँदा जिवनकै सबैभन्दा बढी आनन्द महसुस हुने बताउनुहुने मेयर आचार्यको यो अर्को सराहनीय कार्यले उहाँका चर्चा थप चुलिएको छ । वास्तवमै विशाल र ठुलो हृदय भएको मेयर पाएको भन्दै ईश्वरपुरवासीले आफूहरुलाई भाग्यमानी जनता ठान्न थालेका छन् ।
सामाजिक कामबाट नगरवासी मात्रै नभई जिल्लावासीकै मन जितिसक्नुभएका मेयर आचार्यले मेयर भईसकेपछि पनि समाजसेवको कामलाई थप निरन्तरता दिई रहनुभएपछि चुनाव जित्नकै लागि समाजसेवा गरेको जस्तो गरेको होला भन्नेहरुको आशंका र आरोपहरु भने मिथ्या सावित भएको छ ।
‘हाम्रो आर्थिक अवस्था निकै कमजोर छ । बुवाको लडेर खुट्टा भाँचिएपछि उपचारमा निकै समस्या भयो । शायद मेयरसापले सहयोग नगर्नुभएको भए बुबाको उपचार सम्भव नै थिएन ।’ विरामीका छोरा चेतबहादुरले भन्नुभयो, ‘हामी जस्तो गरीब गुरुवाको लागि मेयर आचार्य भगवान सावित हुनुभयो । हामी उहाँको यो गुन न तिर्न सक्छौं न त विर्सन नै ।’
उपचारपछि साने दमाई अहिले बैशाखी टेकेर हिड्न सक्ने हुनुभएको छ । ‘विचरा खर्चको अभावमा उपचार गर्न नसकेको जानकारी आएपछि मन थाम्नै सकिन र आएर सहयोग गरें । हामीले सहयोग गर्ने भनेकै केही नहुनेहरुलाई त हो नि ।’ मेयर आचार्यले भन्नुभयो ।