सोम दियाली, हरिवन ।। आगामी मंसीर ४ गते हुने संघ र प्रदेशको चुनावमा एमालेबाट सर्लाही क्षेत्र नम्बर ३ का सम्भावित उमेदवारहरुमध्ये पूर्वमन्त्री बद्री न्यौपानेको नाम पनि अधिक चर्चामा छ ।
२०४७ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा सक्रिय हुनुभएका न्यौपाने चुरेभावर हुँदै एमालेमा पुग्नु भएको हो । उहाँ ०६२÷६३ मा भएको चुरेभावर आन्दोलनदेखि नेपाली राजनीतिमा चर्चाको शिखरमा पुग्नुभयो । त्यसपछि डा.बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला महिला, बालबालिका तथा समाज कल्याण मन्त्री भएपछि त उहाँ राजनीतिको थप उचाईमा पुग्नुभयो ।
२०६४ को चुनावमा उहाँका पार्टीले समानुपातिकमा एक सिट जित्यो । चुरे भावरका अध्यक्ष केशव मैनालीको सांसद पद चैट भएपछि उक्त पदमा न्यौपानेले मौका पाउनुभयो । सभासद हुने वित्तिकै महिला, बालबालिका तथा समाज कल्याण मन्त्री बन्नुभएका उहाँले आफ्नो कार्यकालमा थुप्रै सुधारका कामहरु गर्नुभयो । जसको अहिले पनि चर्चा हुने गर्दछ ।
त्यसपछि उहाँ एमालेमा सिंगै पार्टी समाहित गर्दै एमाले बन्नुभयो र अहिले पनि उहाँ एमालेको केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला सह–ईन्चार्ज हुनुहुन्छ ।
पार्टीले आसन्न निर्वाचनको लागि सिफारिस गरेको नाममा पूर्वमन्त्री न्यौपानेको नाम पनि चर्चामा छ । सिफारिस भई गएका नामहरुमध्ये सर्लाही क्षेत्र नम्बर ३ बासीले बद्री न्यौपानेको सम्भावनालाई निकै चासो र चाख पूर्वक हेरिरहेका छन् । पूर्वमन्त्री समेत भईसकेको र राष्ट्रिय राजनीतिमा आफ्नो छबि बनाई सक्नुभएको कारण पनि सर्लाही ३ मा न्यौपानेलाई टिकट दिँदा चुनाव जितिने उहाँ निकट कार्यकर्ताहरुको भनाई छ ।
न्यौपाने आफैले पनि पार्टीले विश्वास गरी मौका दिए जितेर देखाउने बताउनु भएको छ । तर क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य हरि उप्रेतीको नाम पनि चर्चामा रहेकोले पार्टीले न्यौपाने र उप्रेती मध्ये कस्लाई टिकट देला भन्नेमा पनि कार्यकर्ताले चासो व्यक्त गरेका छन् ।
टिकटको विषयमा भने न्यौपानेले भन्नुभयो,‘साथीहरुले मेरो नाम पनि पठाउनुभएको छ । अब बाँकी केन्द्रले निर्णय गरेर टिकट दिने हो । केन्द्रले कस्लाई दिन्छ त्यो हेर्न बाँकी छ । म पार्टीले गरेको निर्णय अनुसार नै अघि बढ्छु । पार्टी निर्णयलाई आत्मसाथ गर्छु । पार्टीले टिकट दिए चुनाव लड्छु नदिए टिकट पाउने साथीहरुलाई जिताउन लाग्छु ।’